काठमाडौ  । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति विहिन हुँदा प्रतिष्ठानको काम कारवाहि प्रभावित भएको छ । एक महिनादेखि उपकुलपति विहिन भएको प्रतिष्ठानमा कर्मचारी र चिकित्सकलाई तलब खुवाउने बाहेक कुनै काम भएको छैन ।

गत पुष २० बाट उपकुलपति विहिन भएको प्रतिष्ठान गत माघ ६ गतेबाट अस्पताल निर्देशक विहिन पनि भएको छ । प्रतिष्ठानको महत्वपूर्ण पदहरु रिक्त रहँदा दैनिक कार्य सञ्चालनसँगै निर्माण प्रक्रियाका धेरै कामहरु प्रभावित भएको छ ।

अहिले प्रतिष्ठानमा क्यान्सर उपचार केन्द्र र मुटुरोग उपचार केन्द्रका लागि सरकारले १८ करोड विनियोजन गरेर बोलपत्र गरी मुल्याङकन समेत गरिसकिएको अवस्थामा उपकुलपति नहुँदा विनियोजित बजेट नै फ्रिज हुने अवस्था आएको छ ।

भवन निर्माणका लागि कन्सल्ट्यान्ट नियुक्तिका लागि टेण्डर गरिएपनि टेण्डर स्विकृत गर्न, लागत स्टिमेट, भवन ड्रइङका कामहरु अगाडी बढ्न सकेको छैन । यी कामहरु उपकुलपतिले गर्नुपर्ने छ । आउँदो सातासम्म उपकुलपति नियुक्त नभए प्रतिष्ठानको यो योजना धरापमा पर्ने अवस्था आएको छ ।

यस्तै गरी प्रतिष्ठानका विभिन्न उपकरण मर्मत र खरिद कार्य समेत प्रभावित भएको छ । अपरेसन थिएटरमा चाहिने सिएसएमटी, अटो क्लाव, युपिएस, ब्याट्री, अल्ट्रासाउण्ड जस्ता उपकरणका स्पेयर्स पार्टस्हरु खरिद गर्न नसक्दा उपचार सेवा नै प्रभावित हुने अवस्था आएको छ । निमित्त उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई तलब भक्ता र विजुली पानीको महशुल भुक्तानीको अधिकार मात्र दिईएको छ ।

उपकुलपति हुन कामै छाडेर राजधानीमा
प्रतिष्ठानको उपकुलपति हुनका लागि दरखास्त हालेका अधिकांश उम्मेद्वारहरु राजनीतिक सेटिङमा महिनौंदेखि राजधानीमा बसेका छन् । घरायसी विदा लिएर एक महिनादेखि राजधानी बसेका प्रतिष्ठानका जिम्मेवार पदाधिकारीका कारण प्रतिष्ठानको सेवा समेत प्रभावित भएको एक कर्मचारीले बताए ।

प्रतिष्ठानको नाककान घाँटी विभागकी डा. संगीता भण्डारी, मेडिसिन विभागका डा. प्रल्हाद कार्की, फरेन्सि विभागका डा. वीएन यादव, निवर्तमान उपकुलपति डा. बलभद्रप्रसाद दास, डा. अरविन्द कुमार सिन्हा, डा. गुरु खनाल लगायतका चिकित्सकहरु विदा लिएरै राजधानीमा छन् ।

राजनीतिक भागवण्डामा उपकुलपति नियुक्ति हुने भएपछि उम्मेद्वारहरु साँझ विहान राजनीतिक दलका कार्यालय तथा निवासमा धाँउने गरेका छन् । प्रतिष्ठानमा डेपुटी अस्पताल निर्देशक भइसकेका डा. गुरु खनालले प्रतिष्ठानका दुई चार चिकित्सक बाहिर हुँदा सेवा नै प्रभावित नहुने बताए ।

विदा फरवार्ड गर्ने अधिकार विभागिय प्रमुख प्रमुखलाई हुने तथा स्वीकृत गर्ने अधिकार शिक्षाध्यक्षको हुन्छ । प्रतिष्ठान स्रोतका अनुसार केहि चिकित्सक विदा स्वीकृत नगरिकनै राजधानीमा १५ दिन देखि बसेका छन् ।

उपकुलपति नियुक्ति यो साता
सरकारले यो साता वीपी प्रतिष्ठानसँगै अन्य तीन प्रतिष्ठानहरुमा उपकुलपति चयन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु नगर्दै उपकुलपति नियुक्त गरिसक्ने आश्वासन पाएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुरु खनालले बताए ।

प्रतिष्ठानमा निमित्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले यो साता स्वास्थ्यमन्त्री गगन थापा र प्रधानमन्त्री कार्यालयमा उपकुलपति नियुक्त नहुँदा प्रतिष्ठानको दैनिक कार्य सञ्चालनमा समेत बाधा उत्पन्न भएकाले तत्काल उपकुलपति नियुक्त गर्न आग्रह गरेको डा. खनालले बताए ।न्युज अभियान बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको