काठमाडौं । सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्धपी उहाँले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवामध्ये एक जना नेतृत्वमा आउने भएकोले ती सबै ‘टेष्टेड’ अनुहार भएको जिकिर गर्नुभयो ।

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उहाँको दावी थियो । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं ।’

उहाँले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले नौ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनका लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भन्नुभयो,–‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन् ।’

उहाँले सरकारले चाह्यो भने एमालेविना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव गर्नुपर्छ, कुनैपनि बहानामा चुनावलाई रोक्नुहुँदैन, मधेशी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरा हुँदैन् ।’

साउदले भन्नुभयोे, ‘एक, दुई , तीन चुनाव भएरै छाड्छ, देश अब चुनावमय भएको छ ।’ उहाँले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, ‘संशोधन प्रस्ताव पनि पारित हुन्छ, एमालेले समर्थन गर्छ ।’

उहाँले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने दावी गर्नुभयो । साउदले भन्नुभयो, ‘यही सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउँछ ।’

एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने स्पष्ट पार्नुभयो । नेता मिश्रले भन्नुभयोे, ‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै  लगेर टुँगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निष्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ ।’

उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चापनि लचिलो बन्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘समस्याको समाधानको मिलनविन्दु खोज्नका लागि वार्ता तथा संवादलाई निरन्तरता दिनुपर्छ ।’ मिश्रले संशोधन प्रस्ताव मधेशी मोर्चाको हितमा नभएकोले आफ्नो पार्टीले कुनैपनि हालतमा पारित गर्न नदिने जिकिर गर्नुभयो ।

उहाँले मधेशी मोर्चालाई चुनावमा भाग लिएर मधेशमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चूनौति समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘मधेशी मोर्चाले स्थानीय तहको चुनाव जितेर देखाए भैहाल्यो नि ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताउनुभयो ।

आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्नु हुँदै उहाँले संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुने बताउनुभयो । कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा छलफल गरिरहेको बताउँदै उहाँले गोप्य मतदान गर्दाखेरि दुई तिहाई पुग्ने पुग्ने उहाँले दावी गर्नुभयो ।

उहाँले एमालेकै समर्थनमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो । सल्लाहकार खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गर्नुभयो ।

अब स्थानीय तहको निर्वाचन कसैले भाँड्न नसकिने बताउँदै उहाँले बैशाख ३१ गते नै चुनाव हुन्छ, सरकार जस्तोसुकै चूनौतिको सामाना गरेर चुनाव गराउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मधेशी मोर्चाले चाहेरपनि चुनाव विथोल्न सक्दैन्, स्थानीय तहको निर्वाचन भएपछि अरु निकायको चुनावपनि हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने सरकारले तयारी गरिरहेकोले मोर्चापनि चुनावमा भाग लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको