
चितवन / चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका ११ मा जेठ २ गते मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले उक्त वडामा मात्रै २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूचि सार्वजनिक गरेको छ। वैशाख २६ गते परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका वडा नम्बर ११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो। जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिए। यता अन्य क्षेत्रमा निर्वाचनका लागि खटिनै सबै कर्मचारी तथा स्वयंसेवकहरु आआफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिए। उनका अनुसार जिल्लाका ३७६ मतदान केन्द्रमा ३ हजार ३५० जना कर्मचारी र स्वयंसेवकहरु खटिएका छन्। चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाईएको जानकारी दिए। चितवनमा सात स्थानीय निकाय रहेको छ। जसमा १ महानगरपालिका १ गाउँपालिका र ५ नगरपालिका रहेका छन्। जिल्लामा कुल ३ लाख १३ हजार २ मतदाता रहेका छन्।