चितवन । भरतपुर महानगरपालिकाको मतगणना क्रममा विवाद हुँदा ९० मतपत्र च्यातिएको यकीन भएको छ। आइतबार राती देखि बन्द गरिएको मतगणना स्थल निर्वाचन आयोगको निर्देशनमा आजै खोलिएको थियो। उमेद्वारहरुको रोहवरमा शिलबन्दी खोलेर गणना गर्दा ९० वटा मतपत्र च्यातिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सेतोपाटीलाई जानकारी दिए। ‘९० वटा मतपत्र च्यातिएको पाइयो हामीले निर्वाचन आयोगलाई यहि प्रतिवेदन बनाएर पठाइसक्यौँ,’ उनले भने। च्यातिएका मतपत्र गणना गरेर पठाउन निर्वाचन आयोगले दिएको निर्देशनपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा लगाइएको ताला खोलिएको थियो। मतपत्र च्यातिएपछि आफुले गठन गरेको छानविन समितको प्रतिवेदन हेरेर आयोगले च्यातिएका मतपत्र यकिन गर्न मुख्यनिर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो। बुधवारै निर्देशन दिएपनि बल्ल ति च्यातिएका मतपत्र कति छन् भनेर छुट्याउन थालिएको हो। मेयर र उपमेयरका उमेद्वार,वडा नम्बर १९ का उमेद्वार उनीहरुका एकएक जना प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रही प्रमुखको रोहवरमा मतगणनास्थलमा शिलबन्दी गरिएका मतपत्र गणना गरिएको थियो। आइतबार राती भरतपुर वडा नम्बर १९ को मतगणना हुँदाहुँदै माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। मतपत्र च्यातेपछि मतगणनास्थलमा ताला लगाइएको थियो। त्यसपछि नेपाली कांग्रेस र माओवादीले वडा नम्बर १९ मा पुन मतदान गर्न र एमालेले मतगणना सुरु गर्न माग गरेका थिए। आफुले हार्ने निश्चित भएपछि मतपत्र च्यातेर पुन: मतगणना गर्ने माओवादी षड्यन्त्र भएको भन्दै एमालेले माओवादीको विरोध गरिरहेको छ। एमालेले यहि विषयलाई लिएर चितवनमा धर्नाजुलुस र यता काठमाडौँमा संसद अवरोध गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost