
काठमाण्डौ / निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुन: मतदान गर्ने निर्णय गरेको छ ।
आयोगको शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुन: मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले च्यातिएका मतपत्रको संख्यासमेत यकिन गरेर पठाएपछि आयोग पुन: मतदान गर्ने निष्कर्षमा पुगेको हो ।
गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस र माओवादी केन्द्रले पुन: मतदानको माग गरेका थिए भने एमाले मतगणनालाई निरन्तरता दिनुपर्ने अडानमा थियो ।
जेठ १४ गते वडा नं. १९ को मतगणना भइरहेकाबेला विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र शील गर्दै अनिश्चितकालका लागि मतगणना स्थगित गरेका थिए ।