राजविराज । सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि सांसद तथा एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको छुट्टा–छुट्टै टोलीले सिमावर्ती क्षेत्रको दशगजा र तिलाठी गाउँको अवलोकन निरीक्षण गरेको छ ।
स्थानीयवासीसँग छलफल गर्नुभएका सांसद चौधरीले भारतले सिमामा बाँधेका बाँधका कारण पानीले निकास नपाउँदा प्रत्येक वर्ष तराईका भूभाग जलमग्न हुने भएकाले द्विपक्षिय पहल गरी समाधानको उचित निकास निकाल्नु पर्ने बताउनु भयो । तत्काल राहत बाढेर खाना र बासको व्यवस्था गर्नुपर्ने बताउनु भएका चौधरीले स्कुल सञ्चालनमा संवेदनशील हुन स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो ।
एमालेका प्रदेश नं. २ का सहसंयोजक रहनुभएका सांसद चौधरीसहित टोलीमा एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा, जिल्ला सदस्यहरु धिरेन्द्र चौधरी, धनीराम चौधरी, जिफन्ट केन्द्रीय सदस्य आनन्द थामी, मजदुर नेता यमबहादुर खडका र निजगढका पत्रकार विजय सिंह लामा रहनु भएको थियो । टोलीमा सप्तरीका अध्यक्ष गोबिन्द न्यौपाने, जिल्ला सदस्य निरन्जन झा, युवा नेता पशुपति कर्ण, सुखराम यादवको सहभागिता रहेको थियो ।
यसैगरी राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरका निमित्त क्षेत्रीय निर्देशक दिपेन्द्र सिंहको टोलीमा जनकपुरमा कार्यरत सञ्चारकर्मीहरु श्याम मिश्र, शैलेन्द्र महतो र गोबिन्द महतो रहनु भएको थियो । उहाँहरुले बाढीबाट प्रभावित गाउँ तिलाठीमा पुगी बाढीले पु¥याएको क्षतिको अवस्था र कारणबारे जानकारी लिनुभयो ।
टोलीले स्थानीयवासीसँग भेंटघाट गर्नुका साथै बाढी नियन्त्रणका लागि अपनाउनु पर्ने आवश्यक उपायहरुबारे छलफल गरेको छ । निमित्त क्षेत्रीय निर्देशक सिंहले प्राकृतिक प्रकोपबाट प्रत्येक वर्ष सप्तरीसहित तराईका भूभाग बाढीबाट प्रभावित भइरहेकोले जनधनको क्षति कम गर्न दिर्घकालिन रुपमा ठोस कार्य गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।