काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी माग अन्ततः पूरा भएको बताएका छन् ।
सरकारले छुट्टै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई सकारात्मक सुरुआतको रूपमा स्वागत गरेका हुन् ।
पुनले दुई दिनअघि संसद्मा राखेको माग र तीन साताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावप्रति सरकार गम्भीर बनेको उल्लेख गरेका छन् ।
‘मैले लामो समयदेखि गरेको माग पूरा भयो,’ उनले भनेका छन्, ‘अब विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षतापूर्वक कसरी सञ्चालन गर्ने भन्ने विषयमा जान्ने–सुन्ने, देशभक्त वैज्ञानिक र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् ।’
उनले मन्त्रालय गठनप्रति नेपाल सरकारलाई धन्यवाद दिँदै यसको सफल कार्यान्वयनको कामना पनि गरेका छन् । साथै, ‘रिसको झोकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु,’ उनले लेखेका छन् ।
पुनले लामो समयदेखि नेपालमा वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउन छुट्टै मन्त्रालय आवश्यक रहेको आवाज उठाउँदै आएका थिए ।







