
राजविराज । सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देव सेवाग्राहीसँग घुस लिँदालिदै रंगेहात पक्राउ परेका छन् ।
बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार टोलीद्वारा देव पक्राउ परेका हुन् । गाउँपालिकामा उपभोक्ता समिति मार्फत गरिएको २ लाख ६८ हजारको सडक ग्राभेल काम सम्पन्न भएपछि भुक्तानी गराउन वडा सचिव देवले ५३ हजार रुपैयाँ घुस मागेका थिए ।
सो वारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी स्थित पूर्वाञ्च क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी परेको थियो । अख्तियारका डिएसपी रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले स्थानीय राष्ट्रिय वाणिज्य बैंक नजिकै ५३ हजार रुपैयाँ घुस लिँदालिँदै देवलाई पक्राउ गरेको थियो ।
देव सो गाउँपालिकाको वडा नं. १, ४ र ५ को सचिव पदको जिम्मेवारी सम्हालेका थिए । पक्राउ परेका देवलाई घुसवापत लिएको रकम सहित आवश्यक कार्वाहीका लागि ईटहरी स्थित सम्पर्क कार्यालय लगिएको छ ।