काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशिक सहायता प्रतिबद्धता गर्ने द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारको अग्रपंतिमा अमेरिका रहेको छ । अमेरिकाले यस वर्ष साढे ५१ अर्ब अनुदान सहयोगका निम्ति प्रतिबद्धता जनाएर नेपाललाई सहयोग गर्ने विकास साझेदारमा पहिलो स्थान लिएको छ ।
गत आवको सो अवधिमा अमेरिकाले ३ अर्ब १८ करोड अनुदान सहयोग गरेको थियो । यस वर्ष अमेरिकाले नेपाललाई गरेको अनुदान सहयोग गत आवको सोही अवधिको भन्दा १६ गुणाले बढी बढी भएको अर्थ सचिव शंकरप्रसाद अधिकारीले बताए ।
विकास साझेदारमध्ये बहुपक्षीय राष्ट्र एसियाली विकास बैंकले नेपाललाई सहयोग गर्नेमा दोस्रो स्थानमा परेको छ । बैंकले चालू आवको पहिलो ६ महिनामा ३४ अर्बभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ । बैंकले गत आवको सोही अवधिमा १३ अर्ब १६ करोड सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।
यस आवमा बैंकले गरेको सहयोग २० अर्ब ८५ करोडले बढी हो । विगत केही वर्षयता अनुदान रोक्दै आएको बैंकले चालू आव संघीयता कार्यान्वयनको वर्ष भएकाले बैंकले एक अर्बभन्दा बढी अनुदान सहयोग पनि दिएको हो । यस आवमा जापान, अमेरिका, एसियाली विकास बैंक, युरोपियन युनियन र विश्व बैंकले मात्रै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यी विकास साझेदारबाट चालू आवको समीक्षा अवधिमा कुल ९४ अर्ब १८ करोड सहयोग प्रतिबद्धता भएको छ । सो सहयोगमध्ये ६१ अर्ब १९ करोड अनुदान हो भने ३२ अर्ब ९९ करोड ऋण सहयोग हो । सो सहयोगमा अमेरिकाको ५४.६८ प्रतिशत रहेको छ भने एडीबीको ३६.११ प्रतिशत हिस्सा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
समीक्षा अवधिमा ४२ अर्ब ४० करोड बहुपक्षीय विकास साझेदारले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने ५१ अर्ब ७८ करोड द्विपक्षीय राष्ट्रको सहयोग प्रतिबद्धता रहेको छ ।
सबैभन्दा बढी ऊर्जामा
विकास साझेदारले सबैभन्दा बढी ऊर्जाका सहयोगमा गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामा विभिन्न विकास साझेदारबाट ६६ अर्ब ९६ करोड विकास प्रतिबद्धता भएको छ । क्षेत्रगत सहयोगमा १५ अर्ब ४० करोड सहरी विकासका लागि प्रतिबद्धता भएको हो ।
नेपालमा क्षेत्रीय शहरी परियोजन निर्माण गर्न खर्च गर्ने भएको प्रतिबद्धता भएको हो । शिक्षामा सात अर्ब खर्च गर्ने योजना सरकारले बनाएको छ । दुई अर्ब १३ करोड व्यापार सहजीकरणका लागि सासेक भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम र दुई अर्ब चार करोड पुनर्निर्माणका लागि खर्च गर्ने योजना सरकारले बनाएको छ । source .. www.aarthiknews.com







