राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक गर्भवती महिलाले अस्पताल बाहिर सडकमै शिशुलाई जन्म दिएकी छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको सेवा र स्वास्थ्यकर्मीको व्यवहारमाथि प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार ३० वर्षीया वविता पासवानले अस्पतालको गेट नजिकै सडकमा शिशुलाई जन्म दिएकी हुन्।
भाइरल भिडियोमा अस्पतालमा प्रसूति गराउन पुगेकी महिलालाई महँगो जाँच गराउनुपर्ने भनिएपछि उनी अस्पतालबाट बाहिरिएको र सडकमा नै प्रसूति भएको दाबी गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे छानबिन हुन बाँकी छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले घटनाबारे छानबिन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लाई निर्देशन दिइसकेको बताएका छन्। दोषी पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गरिने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका मेसु डा. रञ्जित झा हाल काठमाडौंमा छन्। उनले स्वास्थ्यकर्मीहरूसँग बुझ्दा ती महिला बुधबार राति करिब १ बजे अस्पताल पुगेको जानकारी पाएको बताए।
उनका अनुसार प्रसूति गराउनुअघि करिब २–३ हजार रुपैयाँ बराबरको सामान्य स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था रहेको र परिवारले आफूसँग पैसा नभएको बताएका थिए। त्यसपछि आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालले नै आवश्यक रकम उपलब्ध गराउने भन्दै परिवारलाई काउन्सिलिङ गरिएको दाबी डा. झाको छ।
तर, परिवार अस्पतालबाट फर्किएर गएको र बिहान करिब ४ः३० बजे अस्पताल गेट नजिकै सडकमा नै महिलाले शिशु जन्माएको उनले बताए।
प्रसूति सडकमा भएपछि अस्पतालका कर्मचारीले नाल काट्नुका साथै साल निकालेर स्वास्थ्य परीक्षणका लागि अस्पतालमै बस्न आग्रह गरेको भए पनि परिवारले नमानेर फर्किएको डा. झाको भनाइ छ।
डा. झाले अस्पतालभित्रै गर्नुपर्ने जाँच बाहिरबाट गराउन लेख्न नमिल्ने स्पष्ट पार्दै यदि कुनै कर्मचारीले बाहिरबाट जाँच गराउन सिफारिस गरेको वा बिरामीसँग गलत व्यवहार गरेको प्रमाणित भएमा कारबाही गरिने बताए।
घटनाबारे थप छानबिन गर्न आफू काठमाडौंमा रहे पनि बिहीबार नै राजविराज फर्किने र छानबिन समिति गठन गरी सत्य–तथ्य पत्ता लगाउने उनले बताए।
संघीय सरकार मातहतको सरकारी अस्पतालमा उपचारका लागि पुगेकी गर्भवतीले अस्पतालको गेटमै सडकमा बच्चा जन्माउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा छानबिनपछि मात्रै वास्तविकता स्पष्ट हुनेछ। घटनाले सरकारी अस्पतालमा विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीको पहुँच र निःशुल्क स्वास्थ्य सेवाको प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठाएको छ।







