जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरका लागि अघोषित ब्राण्ड एम्बेस्डर भएको बताएका छन् ।
उनले हामीबाट सम्भव भएको भए प्रधानमन्त्री मोदीलाई जनकपुरको ब्राण्ड एम्बेस्डर नै घोषणा गर्ने गर्थें तर स्थानिय सरकारबाट सो सम्भव नभएकाले अघोषित ब्राण्ड एम्बेस्डरकै रुपमा बुझ्नुपर्ने बताए ।
“प्रधानमन्त्री मोदी जनकपुर आउनु अघि विश्वको पाँच प्रतिशत भन्दा पनि कम जनमानसले जनकपुरको बारेमा थाहा पाएको र मोदी आएपछि दुई घण्टामै विश्वले जनकपुरलाई चिनेकोले हामी उनलाई अघोषित ब्राण्ड एम्बेस्डरकै रुपमा लिएका छौं” मेयर साहले भने ।
माईसञ्चार डटकमसंग कुराकानि गर्दै साहले प्रधानमन्त्री मोदी यहाँ आउनुले नेपालको भूगोलमा जनकपुरधाम र जानकी मन्दिर भएको सन्देश विश्व समुदायमा गएको प्रतिक्रिया दिए ।
मेयर साह भन्छन् “मोदी एउटा आफैमा ब्राण्ड भएको र केही नभएपनि उनले जनकपुरलाई धैरैथोक दिएर गएको हामीलाई अनुभूती भईरहेको छ ।”
जनकपुरको विकासका लागि भारतले केही दिने वा नदिने यो दुई देशको सरकारबीचको कुरा भएपनि प्रधानमन्त्री मोदी यहाँ आउनु नै ठूलो कुरा भएको र जनकपुरले धेरै थोक पाएको साहको भनाई छ ।
जनकपुर उप–महानगरपालिकाकाको साँचो प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नु उचित नभएको टिका टिप्पणी भईरहेको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिदै मेयर साहले भने “मिथिलामा अतिथिलाई देउता मान्ने परम्परा रहिआएको र पौराणिक सांस्कृतिक सम्बन्धका आधारमा यो मोदीको मामाघर भएकोले जतिवेला पनि आउने जान सकिने हुँदा उनको लागि यहाँको ढोका सधै खुल्ला रहेको भन्ने भावना र सन्देशका साथ साँचो हस्तान्तरण गरिएको हो ।”
(जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह संग माईसञ्चार डटकमका सम्पादक विनय कर्णले गरेको कुराकानिमा आधारित)







