काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको यात्रा नेपालले असोज दोस्रो साताबाट सुरु गर्दै छ। मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुने प्रतियोगितामार्फत नेपालले छनोट यात्रा सुरु गर्न लागेको हो।

पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  राउन्ड रोबिनको आधारमा हुने  प्रतिस्पर्धाबाट ३ टीम दोस्रो चरणको छनोटमा छानिनेछन्।

पहिलो चरणमा नेपाललाई सहज देखिएको छ। किनकी पहिलो चरणमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ। यस्तै ७ मध्ये ३ टिम दोस्रो चरणमा पुग्ने भएकाले पनि नेपाललाई सहज हुने पक्का छ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए।

पहिलो चरणमा नेपालको खेल
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३  – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस  सिंगापुर– किनरारा ओभल

दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको छनोटको मिति अहिलेसम्म सार्वजनिक भएको छैन। नेपाललाई पहिलो चरणभन्दा दोस्रो चरणमा असहज हुन सक्छ। किनकी एसियाका ६ टिम मध्ये २ टिमले मात्र अन्तिम चरणको छनोटका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।

अन्तिम चरणको छनोटमा विभिन्न महादेशबाट ८ टिम पुग्नेछन्। जहाँ एसिया, अफ्रिका र अमेरिका क्षेत्रबाट २–२ टिम पुग्नेछन्। यस्तै एसिया प्यासेफिक र युरोपका लागि १–१ कोटा छुट्याइएको छ।
सन् ‍२०१८ को डिसेम्बर सम्ममा आइसिसीको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिमले पनि अन्तिम चरणको छनोट खेल्नु पर्नेछ।

यसरी विभिन्न छनोट पार गरेका ८ टिम र वरियातामा नपरेका ६ टिम गरी १४ टिमबीच अन्तिम चरणको छनोट हुनेछ। अन्तिम चरणको छनोटबाट ६ टिम अस्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकपमा छानिनेछन्।

छनोट पार गरेका ६ टिम र शीर्ष वरीयताका १० टिम गरी १६ टिमबीच २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको