काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी १९ देखि २८ मार्चसम्म ओमानमा सिरिज गर्ने तय गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोभिड(१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित भएको हो ।
नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पिएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा हुने सिरिज तथा पिएनजी, अमेरिका र नामिबियाबीच मेमा हुने सिरिज पनि स्थगित भएको छ ।
यसअघि ओमानले सिरिजअघि खेलाडीहरूलाई क्वारेन्टिनमा राख्ने खर्च नबेहोर्ने बताएपछि नेपालले खेल्ने सिरिज अन्योलमा परेको थियो ।
कोभिड–१९ प्रोटोकलअनुसार दोस्रो देशबाट ओमान पुग्ने सबैले ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ । नेपाल र अमेरिकाको टिम ओमानमा बस्दा लाग्ने खर्च बेहोर्न आफू तयार नभएको ओमानले आइसिसीलाई बताएको थियो ।
सिरिजका लागि नेपालले गत शनिबारदेखि अभ्यास सुरु गरेको थियो । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । सुरुआती चरणमा भने २१ खेलाडी अभ्यासमा सहभागी थियो । नेपालले पहिलो चरणको तयारी सकेको छ । अब दोस्रो चरणको तयारी सुरु हुनेछ ।
यो सिरिजपछि जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्ने तय छ । सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन् ।
एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ ।
प्रत्येक टिमले लिग–२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ ।
एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ ।
३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ ।
लिग–२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ ।
तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ । सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन ।

लिग–२ मा नेपालको खेल तालिका
– ओमान, अमेरिका र नेपाल –आगामी १९ देखि २८ मार्च – ओमानमा (स्थगित)
– स्कटल्यान्ड, नेपाल र नामिबिया –आगामी जुलाईमा –स्कटल्यान्डमा
–नेपाल, युएई र पपुवा न्युगिनी– फेब्रुअरी २०२२– नेपालमा
–नामिबिया, स्कटल्यान्ड र नेपाल – २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म ( नामिबियामा
–अमेरिका, नेपाल र ओमान ( जुलाई २०२२) अमेरिकामा
–पपुवा न्युगिन, युएई र नेपाल –२०२२ को २२ सेम्टेम्बर देखि २ अक्टोबरसम्म ) पपुवा न्युगिनीमा
–नेपाल, नामिबिया र स्टकल्यान्ड–२०२३ को फेब्रुअरीमा–नेपालमा
–युएई, पपुवा न्युगिनी र नेपाल –२०२३ को फेब्रुअरीमा–युएईमा–सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको