प्रदेशसभा सदस्यको निर्वाचन भएको छ महिना नबित्दै कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाने जोखिम छ । वर्तमान अवस्थामा रहेका दुई गठबन्धनमा बहुमत नपुगेपछि मध्यवधीको जोखिम बढेको हो ।
मध्यावधिको सम्भावना बढेपछि नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।
‘प्रदेशमा कसैको बहुमत पुग्दैन । मध्यावधिमा जानबाट रोक्नुहोस् । शीर्ष नेता बसेर निकास दिनुहोस् भनेका छौं’, थापाले भने, ‘दुवै गठबन्धनमा बहुमत आउने अवस्था छैन । विकल्प निकाल्नुहोस् भनेका छौं ।’ उपराष्ट्रपतिको निर्वाचनका लागि काठमाडौं पुगेका बेला काङ्ग्रेस सांसदसहित थापाले दलका शीर्ष नेतालाई भेटेका थिए । भेटमा आफुले मध्यावधिमा जानबाट रोक्नुपर्ने आग्रह गरेको उनले बताए ।
प्रदेशमा मध्यावधि निर्वाचन रोक्नका लागि दलहरू मिलेर जानुको बिकल्प नभएको उनले बताए । ‘दलहरू मिलेर जानुको बिकल्प छैन’, उनले भने, ‘साथीहरू मन्त्री मुख्यमन्त्री भन्दै हुनुहुन्छ । तर प्रदेश मध्यावधिमा जाने अवस्था छ ।’ ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन् । सभामुखले सदनमा निर्णयक मत दिन पाउने भएपनि सरकार गठन प्रकृयामा सहभागि हुन पाउदैनन् ।
४० सांसद भएको एमाले र ६ सांसद रहेको राप्रपा एक ठाउँमा छन् । २९ सांसद रहेको काङ्ग्रेस, १३ सांसद (सभामुखसहित) रहेको माओवादी केन्द्र, ४ सांसद रहेको एकिकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपा एउटा गठबन्धनमा छन् । दुवै पक्षमा बहुमत नभएका कारण निकाश निकाल्न दलका नेताहरूलाई आग्रह गरेको काङ्ग्रेस दलका नेता थापाले बताए ।
जवाफमा दलका नेताहरूले छलफल गरेर निकाश निकाल्ने आश्वासन दिएका छन् । ‘दलहरू मिलेर जानुको बिकल्प छैन । शीर्ष नेताले निकाश दिए हामीलाई मन्जुर छ’, थापाले भने, ‘मध्यावधि रोक्ने विभिन्न विकाल्पहरू छन् ।’ राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरू छन् । काङ्ग्रेस नेताहरूसँगै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका माओवादी केन्द्रका प्रदेश सांसद तथा पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रधानमन्त्रीसँगको भेटमा मध्यावधिमा जान नहुने विषयमा थोरै छलफल भएको बताए ।
प्रदेशमा बहुमतका लागि संख्याको विषयमा छलफल हुँदा मध्यवधी जान नहुने बताए । ‘तुरुन्त मध्यावधिमा जाने अवस्था छैन । आर्थिक संटक आइरहेका बेला फेरि चुनाव हुनु राम्रो विषय होइन । जनतामा वितृष्णा हुन्छ’, उनले भने, ‘माथि( केन्द्र) मा मन्त्रीमण्डल विस्तार बाँकी छ । त्यो १–२ दिनमा सकिन्छ । त्यसपछि प्रदेशका विषयमा छलफल गरी केन्द्रबाट निर्देशन हुन्छ । निर्देशन अनुसार हामी अगाडि बढ्छौं ।’ नेकपा एमालेका नेताहरू पनि तत्काल मध्यावधिमा जाने पक्षमा नरहेको उनको भनाई छ ।







