
काठमाडौं । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मिटरब्याज अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री गुरुङले बताए ।
आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई छन् । बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू-सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।