
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले काठमाडौंबाट बरामद भएको २५ करोड रूपैयाँ कस्को हो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले यो प्रकरण ३३ किलो सुन र अन्य प्रकरणजस्तै बन्न नदिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद खतिवडाले विगतका त्यस्ता घटनाहरूले जनतामा निराशा पैदा गराएको बताउँदै अवैध रकम भेटिएको घटना पनि भरिया र ड्राइभर पक्राउमै सिमित नहोस् भनी सरकारो ध्यानाकर्षण गराए।
सांसद खतिवडाले भने,’कहिले १८ किलो र कहिले ३३ किलो सुनका नाउँमा यसैगरी विभिन्न ड्राइभर र भरियाहरूलाई पक्रिने मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो । त्यो नदोहोरियोस्।’
अवैध मुद्रासहित मान्छे समातेको विषयले सरकार तस्कर र भ्रष्टाचारीहरूलाई समात्न कारबाही गर्न तयार छ भन्ने देखाएको उनको दाबी थियो।
सांसद खतिवडाले सरकारले केही गर्न सक्दैन भन्ने गलत भाष्य चिर्न उक्त घटनाका मुख्य दोषी पत्ता लगाइ तस्करी र भ्रष्टाचारी तह लगाउन सरकार तयार छ भन्ने सन्देश दिनुपर्ने बताए।
मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको थियो।