काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ गरेको नेपालले १९७ रनको लक्ष्य पाएको थियो। उत्कृष्ट जवाफी ब्याटिङपछि ओपनर कुशल भुर्तेलले शतकमा नेपालले ८० बल बाँकी छँदै ९ विकेटको जित निकालेको हो।
नेपालको जितमा भर्तेलले १०४ बलमा १०० रन पूरा गरे । उनी १२० रनमा अविजित रहे। ११८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक बनाए। शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।
बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो। १५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमाउन पुग्यो।
अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले। अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा ३ छक्का र ८ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए।
यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
अमेरिकालाई सस्तैमा समेट्न दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले २ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र गुलशन झाले एक÷एक विकेट लिए।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको