काठमाडौं । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुईजना चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका छन् ।
काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई भिषाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेकाहरूले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शंकास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको छ ।







