काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरीएका दुई थान हात्तीका दाह्रासहित पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेमा काठमाडौं तार्केश्वर नगरपालिका-९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ लाप्राक घर भई तार्केश्वर-१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका-१७ घर भएका २७ वर्षीय आयुष महर्जन रहेका छन् ।
यसैगरी बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई टोखा नगरपालिका-२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका-४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन् ।
राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचनाका आधारमा मंगलबार राति नै अपरेसन चलाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सोधपुछपछि राजिव, आयुष र टेकले हात्तीको दाह्रा टुक्रा बनाएर राजिवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको बताएका थिए ।
त्यसपछि प्रहरीले उक्त ठाउबाट दुई टुक्रा हात्तीको दाह्रा बरामद गरेको बताएको छ । खोजबिनका क्रममा राजिवको घरबाट प्रहरीले लागु औषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको छ ।
यसैगरी पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा २४ सै घण्टा सेनाको सुरक्षामा रहने राष्ट्रपति कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेको थियो ।
त्यतिक्रममा प्रदर्शनकारीले राष्ट्रपति निवासमा आगजनी गर्नुका साथै राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका सामग्राीहरु समेत जलाउने र तोडफोड गर्ने काम भएका थिए । यसैको मौका छोपेर केही प्रदर्शनकारीहरुले राष्ट्रपति भवनका भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी गरेका थिए ।
करिब ९ महिनापछि उक्त चोरी भएका हात्तीका दाह्रासहित ५ जनालाई उपत्यका अपराध अनुसन्धानको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।







