राजविराज । सप्तरीको दक्षिणी सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। जिल्लाको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) नजिक बिहिवार बिहान भएको उक्त घटनामा प्रहरी चौकी रामनगर कोदरकट्टीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको छ।
प्रहरी स्रोतका अनुसार बिहान करिब ४ बजेतिर सीमा स्तम्भ नम्बर २४३ नजिकबाट कपडा तस्करी भइरहेको विशेष सूचना प्राप्त भएपछि रामनगर कोदरकट्टी प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले तस्करी भइरहेको सामान नियन्त्रणमा लिने प्रयास गरेपछि तस्करीमा संलग्न समूहले प्रतिरोध गर्दै प्रहरीमाथि आक्रमण गरेको बताइएको छ।
स्थानीय स्रोतका अनुसार तस्कर समूहले भारतीय पक्षका केही व्यक्तिलाई समेत बोलाएर प्रहरी टोलीमाथि ढुंगामुढा तथा कुटपिट गरेको थियो। अचानक भएको आक्रमणमा प्रहरी चौकीका इन्चार्ज असई यादव सामान्य घाइते भएका छन्। घटनापछि केही समय सीमा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
घटनाको जानकारी पाएलगत्तै थप सुरक्षा टोली परिचालन गरिएको थियो। सुरक्षा निकायको सक्रियतापछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ। यद्यपि घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको घटना पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको बताए।
“प्रहरी टोलीमाथि आक्रमण भएको विषय सत्य हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ,” डीएसपी घिमिरेले बताए।
सप्तरीको दक्षिणी सीमा क्षेत्रमा पछिल्लो समय कपडा, किराना तथा अन्य उपभोग्य वस्तुको अवैध ओसारपसार बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको छ। तस्करी नियन्त्रणका क्रममा प्रहरीमाथि नै आक्रमण भएको घटनाले सीमा सुरक्षासम्बन्धी चुनौती थप उजागर गरेको स्थानीयवासीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरिने जनाएको छ भने सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ।







