राजबिराज । सप्तरीको सुरुङ्गा नगरपालिका मा १७औँ नगरसभा तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक भइरहेकै बेला स्थानीय युवाहरूले नगरपालिकाको कार्यालय परिसरमै विरोध प्रदर्शन गरेका छन्।
सुरूङ्गा युथ र सुरुङ्गा जेन जी समूहसँग आबद्ध युवाहरूले हातमा प्लेकार्ड बोकेर प्रदर्शन गर्दै आफूहरूले २०८२ कार्तिक १४ गते नगरपालिकालाई बुझाएको ज्ञापनपत्रका मागहरू अहिलेसम्म सम्बोधन नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
प्रदर्शनकारी युवाहरूले “हामीले स्थानीय जनसरोकारका विषय समेटेर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थियौँ, तर त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गरिएन,” भन्दै विरोधमा उत्रिनुपरेको बताएका छन्। सुरूङ्गा युथका प्रतिनिधि रामभरोस चौधरीले जनताका सरोकारका विषयमा नगरपालिका गम्भीर नदेखिएको आरोप लगाए।
यस्तै सुरूङ्गा नगरपालिकाले सार्वजनिक सरोकारका विषयमा सार्वजनिक सूचना लुकाउनु अपारदर्शीताको कदम भएको स्थानीयको आरोप रहेको छ ।
त्यस्तै, स्थानीय युवा जितेन्द्र मण्डलले जनताको समस्या, सुझाव र माग समेटेर बुझाइएको ज्ञापनपत्रप्रति सम्बन्धित निकायले चासो नदेखाउनु दुःखद भएको बताए। उनले स्थानीय तहले नागरिकका माग र सरोकारलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखे।
युवाहरूले नगरपालिकाले ज्ञापनपत्रमा उल्लेख गरिएका मागबारे स्पष्ट धारणा सार्वजनिक गर्दै यथाशीघ्र कार्यान्वयनको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।







