लुम्बिनी । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बुद्धको जन्मस्थल लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा तथा लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी योग साधक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
लुम्बिनीस्थित लिटिल बुद्ध प्रतिमाअगाडि आयोजित कार्यक्रममा सहभागीहरूले प्रशिक्षकको निर्देशनमा विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए। योग दिवसको सन्देश जनस्तरसम्म पुर्याउने र स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आधुनिक सहरी जीवनशैलीमा योगको महत्व झन् बढ्दै गएको उल्लेख गर्दै नियमित योग, व्यायाम र हिँडडुललाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिए।
“स्वस्थ शरीर नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। शरीरलाई चलायमान राख्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ,” प्रदेश प्रमुख घर्ती मगरले भने। कार्यक्रममा सहभागी योग साधकहरूले योगलाई केवल शारीरिक अभ्यास मात्र नभई मन, शरीर र आत्माबीचको सन्तुलन कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका थिए।
कपिलवस्तुकी योग साधक अनिता शर्माले योगले सकारात्मक सोच विकास गर्ने बताइन् भने विष्णु बस्नेतले योगलाई मानव समाजका लागि ऋषिमुनिहरूको अमूल्य उपहारको रूपमा वर्णन गरे। त्यस्तै रेनुका सुवेदीले नियमित योगाभ्यासले मानिसलाई अनुशासित, निरोगी र सकारात्मक जीवनतर्फ उन्मुख गराउने धारणा व्यक्त गरिन्।
कार्यक्रममा योग प्रशिक्षण दिँदै प्रशिक्षक ललिता चौधरीले आजको व्यस्त जीवनशैलीका कारण मानिसहरू तनाव, चिन्ता र विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको बताइन्। उनका अनुसार नियमित योगाभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। उनले योगका क्रममा श्वास–प्रश्वासको उचित व्यवस्थापन र नियमित अभ्यासलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र योगप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार यस कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।







