सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् ।
सरकारका गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगञ्ज –३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका हुन् ।
गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा शुक्रबार अपराह्न शव बुझ्ने उल्लेख छ । उनीहरुले शव बुझेपछि पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गर्ने बताइएको थियो । सहमति पत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रवार दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ ।
आफन्तले भने दबाबमा आफूहरूलाई सहमतिपत्रमा हस्ताक्षर गराएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएकोले शव नबुझेको बताएका छन् ।
केहि स्थानीयले गृहमन्त्रीको दबाबमा मृतकका परिवारलाई सहमति गराइएको भन्ने आरोप लगाएका छन् । स्थानीयको विरोधकै कारण शव बुझ्न विराटनगर आएका परिवारका सदस्य र आफन्त पुनः देवानगञ्ज फर्किएका हुन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्ने कुरामा केहि समस्या देखिएको बताउँदै प्रहरीले समन्वय गरेर मिलाउने प्रयास गरिरहेको जानकारी दिए ।







