जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच समझदारी भएको छ ।जनकपुरधामस्थित एक होटलमा हिन्दू सम्राट सेनासँग करिब डेढ घण्टाको वार्तामा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधि बसेका थिए ।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि पेश गरिएका १३ बुँदे मागमा थप केही विषय समेटेर कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष बुझाइएको छ ।
ती मागलाई सरकारले सकारात्मक रूपमा लिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको उनले बताए ।
उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि समझदारी भएको छ । त्यस्तै सरकारी पक्षबाट माग पूरा हुने आश्वस्त भएपछि सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू सेनाले फिर्ता लिएको छ ।
त्यस्तै हिजो जिल्ला प्रशासन कार्यालयका सभा हलमा सरकारले प्राप्त गरेको १३ बुँदे र आज बुझेको ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारको तर्फबाट ग्रहण गरेको बताएका छन् ।







