देवानगञ्ज गोलीकाण्डका पीडित परिवारसँग पूर्वमुख्यमन्त्री कार्कीको भेट, निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता
२०८३ श्रावण १७, आईतवार २१:५८
सुनसरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की ले गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भेटघाट गरेका छन्।
पीडित परिवारको घरमै पुगेर उनले घटनाबारे विस्तृत जानकारी लिएका थिए। भेटका क्रममा पूर्वमुख्यमन्त्री कार्कीले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै पीडित परिवारले न्याय पाउनुपर्ने बताए। साथै, गोलीकाण्डका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच भएको सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि आफूले सम्बन्धित निकायसँग पहल गर्ने विश्वास दिलाए।
कार्कीले पीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै न्याय प्राप्तिका लागि आफू सदैव साथमा रहने आश्वासन दिएका थिए। भेटघाटका क्रममा स्थानीयवासी तथा पीडित परिवारका सदस्यहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सहमतिअनुसार राहत तथा अन्य व्यवस्था शीघ्र कार्यान्वयन गर्न माग गरेका थिए।
गत साउन १० गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा नागरिक समाजले सरकारसँग माग गर्दै आएका छन्।