काठमाडौं। अमेरिकाको वेस्लेयन विश्वविद्यालयका प्रोफेसर तथा संयुक्त राष्ट्रसंघ (यूएन) एजेन्सीका जेंडर तथा एजिङ (Gender & Aging) विषयका अनुसन्धानकर्ता क्रिस्टन डेरेमरले काठमाडौंमा जेन्जी (Gen-Z) अगुवाहरूसँग भेटघाट गरेका छन्।
भेटका क्रममा डेरेमरले जेन्जी अगुवा तथा अधिवक्ता जस्मिन ओझा, जेन्जी अगुवा मिराज ढुंगाना, तनुजा पाण्डे, रियाब वानिया, सुप्रिया शाही, काशिफ खान, लेलिन विष्ट बाल लडाकुहरुसँग समसामयिक विषयमा छलफल गरेका थिए।
छलफलका क्रममा नेपालमा विकसित भइरहेका राजनीतिक गतिविधि, युवा सहभागिता, लोकतान्त्रिक अभ्यास, सामाजिक रूपान्तरण तथा युवाको भूमिकाबारे विचार आदान–प्रदान भएको बताइएको छ। डेरेमरले नेपालमा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रम, युवा नेतृत्वको सम्भावना तथा समावेशी शासन प्रणालीका विषयमा विशेष चासो व्यक्त गरेका थिए।

त्यस अवसरमा सहभागी जेन्जी अगुवाहरूले नेपालका युवाले सामना गरिरहेका चुनौती, अवसर तथा लोकतान्त्रिक प्रक्रियामा युवाको सक्रिय सहभागिताका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले सामाजिक न्याय, समावेशिता, लैङ्गिक समानता तथा दिगो विकासका क्षेत्रमा युवाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
डेरेमरको नेपाल भ्रमणका क्रममा भएको उक्त भेटलाई युवा नेतृत्व, लैङ्गिक समानता तथा समसामयिक राजनीतिक विषयमा अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने अवसरका रूपमा हेरिएको सहभागीहरूले बताएका छन्।







