राजविराज ।  सप्तकोशी नदीमा आएको बाढीका कारण बस्ती डुबानमा परेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका स्थानीयलाई अग्लो स्थानमा सार्न थालिएको छ।

पशुपालनलाई मुख्य जीविकोपार्जनको माध्यम बनाउँदै आएका स्थानीयले तत्काल बस्ती छाड्न नमानेपछि नगरपालिकाले बस्तीदेखि करिब डेढ किलोमिटर पश्चिमतर्फ रहेको अग्लो स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्न थालेको हो।

नगर प्रमुख वीरेन्द्र माझीका अनुसार आइतबार १० वटा ‘वाटरप्रुफ टेन्ट हाउस’ का सामग्री गोबरगाढा पठाइएकोमा आठ वटा टेन्ट जडान गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

‘हामीले प्रयास गर्दा पनि त्यहाँका अधिकांश परिवार पशुपालन गरिरहेका कारण बाहिर निस्किन मानेनन्,’ नगर प्रमुख माझीले भने, ‘बाढीको जोखिम बढेपछि बाध्य भएर त्यहीँ नजिकको अग्लो स्थानमा अस्थायी व्यवस्थापन गर्नुपरेको हो।’

नगरपालिकाले प्रभावित परिवारका लागि २५ वटा वाटरप्रुफ टेन्ट हाउस खरिद गरेको छ। आइतबार १० वटा टेन्टका सामग्री पठाएर करिब २५ देखि ३० परिवारलाई अग्लो स्थानमा सारिएको नगर प्रमुख माझीले बताए।

उनका अनुसार सोमबार थप त्रिपाल पठाउने तथा खानेपानीको व्यवस्थाका लागि दुई वटा ट्युबवेल जडान गर्ने तयारी गरिएको छ।

नगरपालिकाले गरेको प्रारम्भिक विवरण संकलनअनुसार गोबरगाढामा करिब ९५ परिवार बसोबास गर्दै आएका छन्। बाढीबाट प्रभावित ती परिवारका लागि सोमबार राहत सामग्री पठाउने तयारी गरिएको नगर प्रमुख माझीले जानकारी दिए।

उनका अनुसार प्रत्येक प्रभावित परिवारलाई एक बोरा चामल, त्रिपाल, दुई लिटर तेल, दाललगायत आवश्यक खाद्य सामग्री समेटिएको राहत प्याकेज उपलब्ध गराउने तयारी भइरहेको छ।

सप्तकोशी नदीको बाढीका कारण गोबरगाढा क्षेत्रमा वर्षेनी डुबानको जोखिम रहने गरेको छ। बाढीको जोखिम बढेसँगै स्थानीय तहले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्कालीन राहत तथा खानेपानीको व्यवस्था गर्ने काम अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको