नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र वातावरणलाई एकअर्काको विकल्पका रूपमा नभई परिपूरकका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा बोल्दै मोदीले दिगो विकास, प्रविधिको समावेशी प्रयोग र विश्वव्यापी सहकार्यलाई भारतले प्राथमिकतामा राखेको स्पष्ट पारे।

ब्रिक्समा भारतका चार प्राथमिकता : लचिलोपन, नवीनता, सहयोग र दिगोपना

‘लचिलोपन, नवीनता, सहयोग र दिगोपन : समावेशी विश्वव्यापी विकासका लागि भविष्यको निर्माण’ विषयक सत्रमा मोदीले भारतीय सभ्यतामा प्रकृतिलाई आमाको दर्जा दिइएको उल्लेख गर्दै वातावरण संरक्षण र आर्थिक विकास सँगसँगै अघि बढाउनुपर्ने बताए।

उनले भने, “विकास र वातावरण एकअर्काका विकल्प होइनन्, बरु एकअर्काका परिपूरक हुन्।”

मोदीका अनुसार भारतको ब्रिक्स अध्यक्षताअन्तर्गतका सबै प्रयास लचिलोपन, नवीनता, सहयोग र दिगोपना गरी चार प्रमुख स्तम्भमा केन्द्रित छन्। ब्रिक्स साझेदार राष्ट्रहरूको सहयोगमा साझा अवधारणालाई व्यवहारिक तथा पारस्परिक लाभका परियोजनामा रूपान्तरण गर्ने प्रयास भइरहेको उनले बताए।

स्वच्छ ऊर्जा र दिगो कृषिमा जोड

दिगोपनका क्षेत्रमा भारतले स्मार्ट ग्रिड तथा ऊर्जा भण्डारणका लागि ‘ब्रिक्स डिजिटल सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरेको मोदीले जानकारी दिए। यसले स्वच्छ ऊर्जा प्रणालीलाई थप भरपर्दो, प्रभावकारी र पहुँचयोग्य बनाउन सहयोग गर्ने उनको भनाइ छ।

त्यस्तै, कृषि–पारिस्थितिकी र पुनरुत्पादक कृषिका लागि स्थापना गरिएका केन्द्रमार्फत परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोड्ने प्रयास भइरहेको उनले बताए। समुदायमा आधारित जलवायु अनुकूलनका कार्यक्रमले आदिवासी ज्ञानलाई जलवायु परिवर्तनविरुद्धको कार्यमा उपयोग गर्ने उनको भनाइ थियो।

महामारीदेखि आपूर्ति संकटसम्म, सामूहिक तयारीमा जोड

मोदीले बढ्दो द्वन्द्व, महामारी, जलवायुजन्य विपद् तथा आपूर्ति शृङ्खलामा देखिएका अवरोधले विश्व कुनै पनि संकटबाट अलग रहन नसक्ने देखाएको बताए।

त्यसैले ब्रिक्सभित्र जोखिम पहिचान, पूर्वतयारी र तत्काल प्रतिकार्य क्षमतालाई बलियो बनाउन विशेष ध्यान दिइएको उनले बताए। संक्रामक रोग नियन्त्रणका लागि ब्रिक्स एकीकृत पूर्वचेतावनी प्रणाली, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी तथ्याङ्क एकीकरण तथा लजिस्टिक आपूर्ति शृङ्खला सहयोग संरचनाजस्ता पहल अघि बढाइएको उनले उल्लेख गरे।

स्टार्टअप र डिजिटल कृषिमा नयाँ पहल

नवप्रवर्तनतर्फ ‘ब्रिक्स इन्क्युबेटर नेटवर्क’ र ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ प्रस्ताव गरिएको मोदीले बताए। यसबाट ब्रिक्स राष्ट्रका स्टार्टअप तथा इन्क्युबेटरलाई जोड्दै नयाँ र विस्तार गर्न सकिने समाधानलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको छ।

डिजिटल कृषि क्षेत्रमा एआई, भू–स्थानिक प्रविधि र डिजिटल सार्वजनिक पूर्वाधारलाई किसानका वास्तविक आवश्यकतासँग जोड्न ब्रिक्स डिजिटल कृषि नेटवर्क विकास गरिने उनले बताए।

मोदीले प्रविधि तथा महत्त्वपूर्ण खनिजलाई हतियारका रूपमा प्रयोग गर्दा विश्वव्यापी प्रगतिमा अवरोध पुग्न सक्ने चेतावनीसमेत दिए। प्रविधिको प्रयोग गर्दा समावेशीता र सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

‘ग्लोबल साउथ’का लागि ब्रिक्सको समाधान

ब्रिक्सभित्र विकसित समाधानको लाभ सदस्य राष्ट्रमा मात्र सीमित हुन नहुने मोदीको धारणा छ। विकासशील राष्ट्र अर्थात् ‘ग्लोबल साउथ’ का आवश्यकताअनुसार त्यस्ता समाधानलाई अनुकूल र पहुँचयोग्य बनाउनुपर्ने उनले बताए।

उनले ब्रिक्सप्रति ‘ग्लोबल साउथ’का राष्ट्रहरूको विश्वास बढिरहेको दाबी गर्दै उनीहरूको आवाज सुनिने, अनुभवको सम्मान हुने र उनीहरूसँगै समाधान विकास गरिने बताए।

मोदीले ब्रिक्सको शक्ति यसको विविधता र सहकार्यमा रहेको उल्लेख गर्दै विश्वव्यापी विकासको लाभ सम्पूर्ण मानवतासम्म पुग्नुपर्ने बताए।

१८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन विश्वव्यापी विकास, वातावरण, प्रविधि, आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र सदस्य राष्ट्रबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ। सम्मेलनका क्रममा मोदीले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको