काठमाडौं । भारतले बाढीका कारण विद्युत् उत्पादन क्षमतामा क्षति पुगेको नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ ।
स्वीकृतिअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट लाइनबाट ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ ।
भारतले जनवरी २०२७ देखि निर्यात गरिने विद्युत्को परिमाण भने डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ ।
हालै आएको बाढीले नेपालका जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुर्याउँदा आन्तरिक विद्युत् उत्पादन क्षमता घटेको र थप विद्युत् आवश्यक परेको भारतको विद्युत् मन्त्रालयले जनाएको छ । भारतका अनुसार उक्त स्वीकृतिले कठिन अवस्थामा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्नेछ ।
भारतले विद्युत् क्षेत्रको लामो समयदेखिको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।







