काठमाडौँ । प्राकृतिक तथा दिगो खेतीसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि नेपालका ५० जना अधिकारी सम्मिलित टोली भारत प्रस्थान गरेको छ।

भारतीय राजदूतावास काठमाडौँका अनुसार नेपाली अधिकारीहरूको टोलीले २०८३ असोज १३ देखि १७ गतेसम्म भारतको हरियाणा राज्यस्थित कुरुक्षेत्रको गुरुकुलमा पाँचदिने प्राकृतिक खेतीसम्बन्धी प्रशिक्षण लिनेछ। प्रशिक्षण कार्यक्रम भारत सरकारको पूर्ण प्रायोजनमा सञ्चालन हुँदैछ।

यो कार्यक्रममा सहभागी हुने नेपाली अधिकारीहरूको तेस्रो ब्याच हो। यसअघि पहिलो ब्याचले सेप्टेम्बर २०२३ र दोस्रो ब्याचले अगस्ट २०२५ मा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए।

प्रशिक्षणमा सहभागी अधिकारीहरूले प्राकृतिक खेतीका प्रविधि तथा दिगो कृषि अभ्यासबारे व्यावहारिक ज्ञान हासिल गर्नुका साथै कृषि क्षेत्रमा अपनाइएका अनुभव र उत्कृष्ट अभ्यासबारे भारतसँग ज्ञान आदानप्रदान गर्ने अवसर पाउनेछन्।

भारतीय दूतावासले यो पहलले नेपाल–भारतबीच कृषि क्षेत्रमा लामो समयदेखि रहँदै आएको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ। साथै, वातावरणमैत्री तथा दिगो कृषि प्रणालीको प्रवद्र्धन र नेपालमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्धिमा भारतको निरन्तर सहयोगलाई यस कार्यक्रमले प्रतिबिम्बित गर्ने दूतावासको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको