काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति सार्ने तयारी गरिएको छ।
कांग्रेसको महाधिवेशन असोज १६-१९ गतेसम्म गर्ने तय भएको थियो। निर्धारित मितिमा वडा, पालिका र प्रदेश(प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न नभएपछि महाधिवेशनको मिति सार्न लागिएको हो।
महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको मिति दुई(तीन दिन सर्न सक्ने बताए। ‘प्रदेश(प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज र भोलि कति सम्पन्न हुन्छ। कति बाँकी रहन्छ त्यही अनुसार दुई(तीन दिन सार्नुपर्ने हुन सक्छ,’ पौडेलले नेपालखबरसँग भने।
महाधिवेशनको मिति सार्नु परे केन्द्रीय कार्यसम्पादन वा कार्यसमिति बैठक बोलाएर निर्णय लिने उनको भनाइ छ। ‘केन्द्रीय महाधिवेशनको मिति कार्यसम्पादन वा कार्यसमितिको बैठकबाट हुन्छ। मातहतको कार्यतालिका निर्वाचन समितिले अवस्था हेरेर हेरफेर गरिरहेको छ,’ पौडेलले भने।
असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन करिब सम्पन्न भए पनि असोज ७ मा पालिका र १० मा प्रदेश(प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आधा मात्र सम्पन्न भएको छ।







