राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साहले महिलालाई अवसर र सकारात्मक वातावरण प्रदान गरिए हरेक क्षेत्रमा उत्कृष्ट कार्य गर्न सक्ने बताएकी छन्।
तेली कल्याण समाजअन्तर्गतको साह महिला समाज सप्तरीले आइतबार आयोजना गरेको सांस्कृतिक पर्व जितियाको शुभकामना आदानप्रदान तथा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष साहले यस्तो बताएकी हुन्।
जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै उनले परिवार र सन्तानको दीर्घायु तथा सुख–समृद्धिका लागि महिलाले कठोर व्रत बस्ने गरेको उल्लेख गरिन्। उनले भनिन्, “परिवार र सन्तानका लागि कठोरभन्दा कठोर व्रत बस्न सक्ने हामी महिलाहरू आत्मनिर्भर र सशक्त हुँदै गएका छौँ। अब हामीलाई समाजको सकारात्मक साथ र सहयोगको अपेक्षा छ।”
महिलाको समुन्नतिका लागि समाजले उदारतापूर्वक सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा तेली कल्याण समाज सप्तरीका अध्यक्ष अमृतलाल साह, पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष डिई रामचन्द्र साह, तेली कल्याण समाज युवा विद्यार्थीका संस्थापक अध्यक्ष अर्जुनप्रसाद साह, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह, बोदेबरसाइन नगरपालिकाकी निवर्तमान उपप्रमुख रञ्जु कुमारी साह तथा अधिवक्ता डोमन साहलगायतको उपस्थिति थियो।
उनीहरूले जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै परिवारको दीर्घायु, सुख र समृद्धिको शुभकामना व्यक्त गरे।
यसैबीच, साह महिला समाजको तेस्रो जिल्ला अधिवेशनबाट प्रमिला कुमारी साहको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता डोमन साहले जानकारी दिए।
त्यस्तै, राजविराज नगर भेलाबाट मिना कुमारी साहको अध्यक्षतामा १४ सदस्यीय साह महिला समाज राजविराज नगर कमिटीसमेत गठन गरिएको तेली कल्याण समाज सप्तरीका सचिव योगेन्द्रप्रसाद साहले बताए। समाजको विधानअनुसार दुवै कमिटीको कार्यकाल तीन वर्षको हुनेछ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट दुई सयभन्दा बढी साह समुदायका महिला सहभागी भएका थिए। जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम तथा सहभोजसमेत आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको थियो।







