राजविराज । कोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ५ सय ४ घर डुबानमा परेका छन्। आइतबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बाढी थप बढ्न सक्ने चिन्ताले तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

नगरप्रमुख वीरेन्द्र माझीका अनुसार हनुमाननगर कंकालिनी–१३ गोबरगाढामा मात्रै १ सय ५० घर डुबानमा परेका छन्। त्यस्तै वडा नम्बर १२ का २ सय तथा वडा नम्बर ७ र ५ का गरी थप १ सय ५४ घर डुबानमा परेका छन्। बाढी घरभित्रै पसेपछि प्रभावित परिवारलाई खाना पकाउनसमेत समस्या भएको छ।

बाढी प्रभावितलाई राहतस्वरूप नगरपालिकाले शनिबारदेखि पुरानो नगरपालिका कार्यालयको भवनमा निःशुल्क मेस सञ्चालन गरेको छ। नगरप्रमुख माझीले बाढी पूर्ण रूपमा नघटेसम्म मेस सञ्चालन गरिने बताए।

‘बाढी प्रभावितलाई दुई छाक निःशुल्क खाना खुवाइरहेका छौँ,’ उनले भने, ‘बाढी प्रभावित कोही पनि भोको सुत्न नपरोस् भन्ने उद्देश्यले मेस सञ्चालन गरेका हौँ।’

आइतबार बिहान गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव २ लाख २६ हजार २ सय ९० क्युसेक रहेको छ। शनिबार रातिको तुलनामा बहाव केही घट्दो देखिए पनि कोशी तटीय क्षेत्रमा शनिबारदेखि नै सयौँ घर डुबानमा छन्। केही परिवार त्रिपालमुनि आश्रय लिएर बसेका छन् भने केही डुबानमा परेकै घरमा बस्न बाध्य छन्।

सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीले कोशी तटीय क्षेत्रका उद्धार टोलीलाई ‘हाई अलर्ट’मा राखेको छ।

सशस्त्र प्रहरी उपरीक्षक नवीनसिंह राईका अनुसार कोशी तटीय क्षेत्रसहित अन्य बाढी प्रभावित स्थानमा डीएमटी म्यानेजमेन्ट टिमका ३२ जनासहित ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारका लागि २ वटा र्‍याप बोट र ३ वटा मोटर बोट गरी ५ वटा उद्धार डुंगा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको