ग्वान्जाओ। कुनै समय ‘सुधार र खुलापनको झ्याल’ (विन्डो अफ रिफर्म एन्ड ओपनिङ अप) मानिने सेन्जेन सहर अहिले एउटा हृदयविदारक विरोधाभासबाट गुज्रिरहेको छ। चम्किला गगनचुम्बी भवनमुनि हजारौँ युवाहरू निःशुल्क वाइफाइ, खाना र पानीका लागि कम्युनिस्ट पार्टीका सेवा केन्द्रहरूमा दैनिक लामबद्ध हुन्छन्। अन्य धेरै मानिसहरू पुलमुनि, सबवे स्टेसन र पार्कका बेन्चहरूमा सुत्न बाध्य छन्। पाँच दिनसम्म जागिर खोजेर निराश बनेका यस घटनाका एक भुक्तभोगी आफैँ पार्कमा सुत्ने सोच बनाउँछन्, जुन चीनको आर्थिक चमत्कारले आफ्नै नागरिकलाई कसरी बेवास्ता गरेको छ भन्ने कुराको स्पष्ट सङ्केत हो।
तथ्याङ्कहरू झनै डरलाग्दा छन्। चीनको राष्ट्रिय तथ्याङ्क विभाग (नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स) ले गरेको तर पछि हटाइएको एक सर्वेक्षणअनुसार, अगस्ट २०२५ सम्ममा ४ करोड ७५ लाख (४७.५ मिलियन) चिनियाँ नागरिकहरू घरबारविहीन भएका थिए। द हिलले उद्धृत गरेको यो सङ्ख्या सन् २०२० को तुलनामा पाँच गुणा बढी हो र यसले चीनको आर्थिक आवरणभित्रको कुहिएको यथार्थलाई उजागर गर्छ। अनुसन्धानको पद्धति निकै वैज्ञानिक भएकाले चिनियाँ सत्ताले यसलाई सीधै नकार्ने अवस्था छैन, तैपनि यस मौन सङ्कटप्रति सरकारको मौनता भने उदेकलाग्दो छ।
आजको चीनमा घरबारविहीनताका चार मुख्य विशेषता छन्: यो बृहत् स्तरमा छ, युवाहरू बढी छन्, सहरीकरणसँग जोडिएको छ र उनीहरू माग्ने गर्दैनन्। घरबारविहीनमध्ये ६१ प्रतिशत ३३ वर्षभन्दा मुनिका छन्, जसले सिधै देशको भयावह युवा बेरोजगारी सङ्कटलाई दर्साउँछ। कारखानाहरूले कामदार लिन छाडेका छन्, निजी उद्योगहरू खुम्चिएका छन् र विदेशी पुँजी पलायन भएको छ। नतिजा स्वरूप, लाखौँ स्नातक (ग्र्याजुएट), डेलिभरी ड्राइभर र जागिरबाट निकालिएका ‘ह्वाइट-कलर’ कामदारहरू स्टेसन र अन्डर पासमा सुतिरहेका छन्। अर्कोतर्फ, घरबारविहीनमध्ये २५ प्रतिशत वृद्ध वृद्धाहरू छन्, जसलाई पेन्सन र पारिवारिक आडभरोसाविहीन प्रणालीले सडकमै छाडिदिएको छ।
चीनको उत्पादन वृद्धिको मेरुदण्ड मानिने ग्वाङडोङ प्रान्तभरिका कारखानाहरू अहिले अर्डर नआएर रित्तो छन्। उत्पादन लाइनहरू ठप्प हुँदा कामदारहरू छोटो अवधिका, अस्थिर काम (गिग्स) गर्न बाध्य छन्, जसले उनीहरूको दैनिक गुजारा चलाउन पनि धौधौ पर्छ। ग्वान्जाओमा, खाना डेलिभरी गर्ने ड्राइभर र प्रवासी मजदुरहरू रहरले नभई बाध्यताले पुलमुनि सुत्न थालेका छन् ताकि कोठा भाडा जोगाएर अलिअलि पैसा बचत गर्न सकियोस्। चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा रेलवे स्टेसनहरू अस्थायी छात्रावासमा परिणत भएको र बेरोजगार युवाहरू अव्यवस्थित तथा अस्वस्थ कर अवस्थामा भुईँमा सुतिरहेको देखिन्छ। यी दृश्यहरूले अनलाइनमा तातो बहस सिर्जना गरेका छन्, जसले सरकारी तथ्याङ्कले लुकाउने गरेको निराशाको वास्तविक आकारलाई बाहिर ल्याएको छ।
यहाँका मानवीय कथाहरू उत्तिकै हृदयविदारक छन्। एक ब्लगरले पुलमुनि भेटेका एक युवाको कथा सुनाएका छन्, जसले केवल खाना खानका लागि आफ्नो मोबाइल फोन बेचेका थिए र “आफूसँग अरू कुनै विकल्प नभएको” स्वीकारेका थिए। यस्ता घटनाहरूले चीनका सहरी केन्द्रहरूमा फैलिएको चरम निराशालाई सङ्केत गर्छन्। यस सङ्कटमा मुख्यतया तीन वर्गका घरबारविहीन नागरिकहरू छन्। पहिलो, जागिर गुमाएका कामदारहरू (स्नातक, निकालिएका कर्मचारी र भाडा तिर्न नसक्ने गिग वर्कर)। दोस्रो, ऋणमा डुबेका नागरिकहरू, जसले घरको धितो (मोर्टगेज), कार लोन र अनलाइन ऋणको भार बोकेका छन् र आम्दानी रोकिने बित्तिकै उनीहरूको जीवन तहसनहस हुन्छ। अन्त्यमा, परिवार र कल्याणकारी प्रणालीबाट परित्यक्त, सहाराविहीन वृद्ध वृद्धाहरू। यी तीनै वर्गले आर्थिक गिरावट र सरकारी निष्क्रियताका कारण लाखौँले आश्रय, सम्मान र आशा गुमाएको समाजको दुखद चित्र प्रस्तुत गर्छन्।
यस सङ्कटमा सरकारको प्रतिक्रिया देखावटी मात्रै छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का ‘मास सर्भिस सेन्टर’ (जनसेवा केन्द्र) हरूलाई समाधानका रूपमा प्रचार गरिए पनि ती प्रायः सुनसान हुन्छन्, जहाँ कि त कर्मचारी हुँदैनन् कि प्रवेशमा कडा नियम लगाइएको हुन्छ। “सबैभन्दा ठूलो शक्ति एकता हो” भन्ने नारा लेखिएको एउटा केन्द्रमा ‘सनस्ट्रोक’ (लू) लागेका एक व्यक्तिलाई पानीसमेत दिइएन। अर्को केन्द्र यति रित्तो थियो कि त्यहाँ न कर्मचारी थिए, न सुरक्षा, न त कुनै सेवा नै। यी केन्द्रहरूले घरबारविहीनहरूलाई सहयोग गर्नुको सट्टा उनीहरूलाई सहरको ‘सौन्दर्य बिगार्ने तत्त्व’ मानेर अन्यत्र सार्ने काम मात्र गर्छन्।
यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासलाई तीव्र पारेको छ, जसले तल्लो तहका रोजगारीहरूलाई मेसिनले विस्थापित गर्दै छ। अधिकारीहरूले यी ‘राजनीतिक उपलब्धिहरू’ को उत्सव मनाउँदा मानवीय मूल्यलाई भने बेवास्ता गरिरहेका छन्। सन् १९९० को दशकमा जन्मिएका दम्पतीहरू व्यापार र घर गुमाएर खाना डेलिभरी र ‘राइड-हेलिङ’ गर्न बाध्य छन्। सात वर्ष चलेको एउटा वेडिङ प्लानिङ (विवाह व्यवस्थापन) कम्पनी रातारात बन्द हुँदा सञ्चालकहरू सडकमा आइपुगेका छन्। चीनको आर्थिक तथ्याङ्कले वृद्धिको जिकिर गरे पनि त्यसमा मानव अधिकार, सामाजिक सुरक्षा र कल्याणकारी क्षेत्रको खर्च समावेश छैन।
सत्ताले यथार्थलाई कसरी लुकाउन खोज्छ भन्ने कुरा उनीहरूले प्रयोग गर्ने शब्दावलीबाटै प्रस्ट हुन्छ। अप्रिल २०२६ मा, नीति निर्माताहरूले घरबारविहीन माग्ने भन्ने शब्दलाई विस्थापित व्यक्तिमा बदल्ने प्रस्ताव गरे। यो भाषिक छलकपटले सङ्कट समाधान गर्दैन; बरु यसले मन्दीको विशाल आकार र छविको व्यवस्थापनप्रतिको पार्टीको आशक्तिलाई झल्काउँछ। दशकौँसम्म चीनले गगनचुम्बी भवन, रेलवे र मेगा-प्रोजेक्टहरू बनायो, तर कोठा भाडा तिर्न नसक्ने लाखौँ नागरिकलाई आश्रय दिन भने असफल भयो।
घरको ऋणले थिचिएका परिवारहरू अत्यन्तै कन्जुस्याइँ गर्दै बजारमा फालिएका र बचेखुचेका खानेकुरा टिप्न बाध्य छन्। जेनजी कामदारहरूले गर्वका साथ कुहिएका तरकारीहरू जम्मा गरिरहेका भिडियोहरूले निराशाको अवास्तविक प्रतीत हुने चित्र प्रस्तुत गरेका छन्। एउटा बच्चा हुर्काउन लाखौँ युआन खर्च हुन्छ, तर बेरोजगार आमाबुवा फोहोरमा खानेकुरा खोज्न बाध्य छन्। कुनै समय सद्गुण मानिने मितव्ययिताले अहिले निराशालाई छोपिरहेको छ। यो बचत होइन, यो बाँच्ने सङ्घर्ष हो। सङ्कटलाई स्वीकार गर्न पार्टीले गरेको इन्कारले एउटा गहिरो सत्य उजागर गर्छ: चीनको शासन प्रणाली दिगो छैन। राज्यले मानव कल्याणभन्दा पूर्वाधार र राजनीतिक छविलाई प्राथमिकता दिन्छ।
विश्वले चीनको यो घरबारविहीनताको महामारीलाई सीमान्तकृत समस्याका रूपमा नभई प्रणालीगत विफलता (सिस्टेमिक फेलियर) का रूपमा बुझ्नुपर्छ। यसले आधिकारिक तथ्याङ्कले स्वीकार गरेभन्दा छिटो कामदारहरू गुमाइरहेको अर्थतन्त्र, कसैलाई पनि भरथेग गर्न नसक्ने कल्याणकारी प्रणाली र समाधानभन्दा नारामा बढी चिन्तित सरकारलाई प्रतिबिम्बित गर्छ। जबसम्म चिनियाँ कम्युनिस्ट पार्टीले वास्तविक र ठोस कदम चाल्दैन, तबसम्म लाखौँ मानिसहरू आफ्ना चम्किला सहरका पुलमुनि, स्टेसनहरूमा र सडकहरूमा अलपत्र परेर ‘एक दिनको छाक टार्ने’ नियति भोग्न बाध्य हुनेछन्।







