राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ र ५ का वर्षा तथा बाढीबाट प्रभावित १९ विपन्न घरधुरीलाई आईतबार राहत सामग्री वितरण गरिएको छ ।
वडा नं. ४ का ११ र वडा नं. ५ का ८ गरी १९ घरधुरीलाई गैरखाद्य राहत सामग्री वितरण गरिएको हो ।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग तथा प्रोस्पर ग्लोबलको साझेदारीमा जनचेतना अभियान नेपालद्वारा ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना’ अन्तर्गत प्रभावित परिवारलाई गैरखाद्य राहत सामग्री उपलब्ध गराइएको जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही कुमारी ठाकुरले जानकारी दिइन् ।
परियोजनाले विपद्का समयमा प्रभावित समुदायलाई तत्काल सहयोग उपलब्ध गराउनुका साथै आगामी दिनमा बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ ।
प्रत्येक घरधुरीलाई गैरखाद्य राहत सामग्रीअन्तर्गत आपत्कालीन आश्रय तथा सुरक्षाका लागि त्रिपाल, डोरी तथा बोरा, खाना पकाउने तथा खाने भाँडाकुँडा, पानी भण्डारणका सामग्री, सरसफाइ तथा व्यक्तिगत प्रयोगका सामग्री, टर्चलाइट, झुललगायत आवश्यक सामग्री उपलब्ध गराइएको जनचेतना अभियान नेपालले जनाएको छ ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाले पनि बाढी प्रभावित १९ वटै घरधुरीलाई खाद्य राहत सामग्री उपलब्ध गराएको छ ।
गाउँपालिकाले चामल, चाउचाउ, तेल, नुन, कम्बललगायत खाद्य तथा अन्य आवश्यक सामग्री वितरण गरेको हो ।
स्थानीय तह र परियोजनाबीचको समन्वयमा गरिएको यस सहयोगले बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक ठाकुरले विपद्का समयमा सबैले आफ्नो क्षमता र स्रोत अनुसार प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने बताइन् ।
उनले अहिले प्रभावित परिवारलाई सहयोग र उनीहरु सँगै उभिने समय भएकोले परियोजनाले प्रभावित समुदायसँग निरन्तर सहकार्य गर्दै उनीहरुको उत्थानशीलता अभिवृद्धि तथा सुरक्षित र सक्षम समुदाय निर्माणका लागि सहयोग जारी राख्ने स्पष्ट पारिन् ।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले स्थानीय सरकार सधै समुदायको साथमा रहेको बताए ।
उनले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै गाउँपालिकाले पनि प्रभावित परिवारका लागि खाद्य राहत सामग्री उपलब्ध गराएको उल्लेख गरे ।
समुदायका सदस्यहरूलाई सम्भावित अन्य विपद् तथा जोखिमबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन आग्रह गर्दै अध्यक्ष मण्डलले आवश्यकता अनुसार स्थानीय सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राहत वितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, विपद् जोखिम न्यूनीकरणका सम्पर्क व्यक्ति राजेशकुमार झा, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक ठाकुर, सान परियोजनाका संयोजक लक्ष्मण खत्री लगायत स्थानीय समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।







