राजविराज । मधेशी समाज परिवर्तनको बाटोमा अघि बढे पनि मधेशकेन्द्रित राजनीतिक दल र तिनका नेतृत्व समयअनुसार रूपान्तरण हुन नसकेको भन्दै मधेशका युवा नेता विक्की यादवले आलोचना गरेका छन्।
आउँदै गरेको दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेश : अबको बाटो’ संवाद शृङ्खला अन्तर्गत मधेश आन्दोलनको समीक्षा कार्यक्रममा बोल्दै यादवले पुराना राजनीतिक दलहरूले आफ्नो नेतृत्व जोगाउन मात्रै अग्रगामी मोर्चा बनाउने गरेको आरोप लगाए। समाजको बदलिँदो आवश्यकता र जनताको मागअनुसार आफूलाई परिवर्तन गर्न दलहरू तयार नभएको उनको भनाइ थियो।
कार्यक्रममा पत्रकार स्नेहा झाले मधेशले वर्तमान समयअनुसार आफ्नो राजनीतिक एजेन्डा तय गर्न नसकेको बताइन्। उनले नयाँ नेतृत्वले बदलिँदो परिस्थिति र समयको आवश्यकताअनुसार मधेशको एजेन्डा पुनःनिर्धारण गर्नुपर्नेमा जोड दिइन्।
मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले ७५ वर्षको राजनीतिक यात्रामा समेत मधेशी राजनीतिले एउटा बलियो राजनीतिक पार्टी निर्माण गर्न नसकेको टिप्पणी गरे।
युवा अभियन्ता आभाष गुरुले मधेशलाई स्वशासनसँगै सुशासन पनि आवश्यक रहेको बताए। संविधानसभा सदस्य विमल केडियाले मधेशको वास्तविक अवस्था, आवश्यकता र समस्याको पहिचानका लागि तथ्याङ्कमा आधारित अनुसन्धान तथा डाटाबेस निर्माण गर्नुपर्ने धारणा राखे।
जनअधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले सप्तरीको आँप र बरमझियाको पेडाजस्ता स्थानीय उत्पादनलाई समेत प्रभावकारी रूपमा ब्रान्डिङ गर्न नसक्नु मधेशी राजनीतिको असफलताको एउटा उदाहरण भएको बताए।
जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले मधेशी राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर रहेको टिप्पणी गर्दै पुराना मधेशकेन्द्रित दलहरू विघटनको सङ्घारमा पुगेको दाबी गरे।
मधेशी जनअधिकार फोरमका संस्थापक नेताले पनि मधेशी राजनीतिक नेतृत्वमा पुस्तान्तरण नहुनुलाई राजनीतिक असफलताको प्रमुख कारणका रूपमा औँल्याए। स्थापना कालदेखि नै नेतृत्वमा रहेकाहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहनु मधेशी राजनीतिका लागि चुनौती बनेको उनको भनाइ थियो।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानका संरक्षक संजय यादवले पुराना राजनीतिक दल र नेताहरूप्रति जनताको विश्वसनीयता घट्दै गएको बताए। उनले मधेशमा नयाँ अभियानमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता सन्तोष मेहता, गायक रविराज साह, नेता एवं गायक आभाष लाभ, पत्रकार प्रतिमा चौधरी, उपप्राध्यापक रामबाबु मण्डल, मनिष मण्डल, रमण कर्णलगायत दर्जनौँ युवा राजनीतिकर्मी तथा अभियन्ताहरूको उपस्थिति थियो।
प्रतिष्ठानकी अध्यक्ष एवं शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेशी अभियन्ता अधिवक्ता आनन्द गुप्ताले गरेका थिए।







