ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख बिदेश्वर यादव (विक्की) ले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका छन्।
असोज २३ गते ललितपुरस्थित ज्यापू भवनमा बसेको केन्द्रीय समिति बैठकका क्रममा राजीनामा सार्वजनिक गर्दै यादवले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, नेतृत्व व्यक्तिकेन्द्रित बनेको र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने वातावरण साँघुरिएको आरोप लगाएका छन्।
मधेस आन्दोलन, संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय र पहिचानका मुद्दाबाट प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै उनले पछिल्लो राजनीतिक दिशा र कार्यशैलीप्रति असहमति जनाएका हुन्।
यादवले विचारभन्दा व्यक्ति र सामूहिक निर्णयभन्दा सीमित स्वार्थ हाबी हुँदै गएको दाबी गर्दै पार्टीभित्र खुला बहस, नेतृत्वको जवाफदेहिता र लोकतान्त्रिक पुस्तान्तरण आवश्यक रहेको बताएका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको ऐतिहासिक योगदानको मूल्याङ्कन इतिहासले गर्ने भए पनि विगतको योगदानका आधारमा वर्तमानका सबै निर्णय प्रश्नभन्दा माथि हुन नसक्ने उनको भनाइ छ।
‘म पार्टी छोड्दै छु, तर मधेसका मुद्दा छोडिरहेको छैन,’ उनले भनेका छन्।
उनले सुशासन, सामाजिक न्याय र जनताको सम्मानका पक्षमा आफ्नो प्रतिबद्धता कायम रहने स्पष्ट पारेका छन्। यादवको राजीनामासँगै जसपा नेपालभित्र युवा नेतृत्व र आन्तरिक लोकतन्त्रको बहस थप चर्किने देखिएको छ। यसबारे पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।







