काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा चार जना मन्त्रीसहित ४० जनासम्मको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। आगामी नोभेम्बर २२ देखि २४ सम्म हुने भ्रमणका लागि प्रधानमन्त्रीसहित ३६ सदस्यीय टोली तय गरिएको छ। आवश्यकताअनुसार प्रतिनिधिमण्डलको संख्या ४० जनासम्म पुग्न सक्ने स्रोतले जनाएको छ।

भ्रमण टोलीमा चार मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, केही सांसद तथा सचिवालयका सदस्यहरू रहनेछन्। त्यसैगरी सञ्चारमाध्यमका प्रतिनिधि र निजी क्षेत्रका व्यवसायीसमेत टोलीमा सहभागी हुने बताइएको छ।

भ्रमणमा सहभागी हुने मन्त्रीहरूमा शिशिर खनाल, गणेश पौडेल, सुनिल लम्साल र विराजभक्त श्रेष्ठ रहेका छन्। प्रधानमन्त्री शाहलाई स्वागत गर्न भारत सरकारले मन्त्री वा राज्यमन्त्रीमध्ये एक जनालाई पठाउने तयारी गरेको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा आर्थिक तथा कूटनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा भारतले नेपाललाई उल्लेख्य आर्थिक सहायता उपलब्ध गराउने तथा लामो समयदेखि चर्चामा रहेका हवाई रुटलगायतका विषयमा सहमति जनाउन सक्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र सहमतिले दुई देशबीचको आर्थिक साझेदारी, व्यापारिक सम्बन्ध तथा पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको