राजविराज । गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा कोईलाडी र सकरपुराबीच हुने भएको छ ।
मंगलबार सम्पन्न खेलमा वडा नम्बर ५ कोइलाडी बर्साइनले वडा नम्बर १ तिलाठीलाई ५१ रनले पराजितसँगै कोइलाडी फाइनमा पुगेको हो । सम्पन्न खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्वर ५ को. बर्साइनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई १ सय ३४ रन बनाएको थियो । जसमा दिपेश सरदारले विष्फोटक ब्याटिङ गर्दै २ छक्का र ४ चौकाको मद्दतले २२ बलमा ३७ रन बनाए भने राजेश रजकले एक छक्का र ३ चौकाको मद्दतले अविजित ३४ रन तथा कृष्णा साहले १५ र प्रकाश मण्डलले १४ रनको योगदान गरे ।
तिलाठीको लाागि मुकुन्द मोहन मिश्र, जितेन्द्र यादव, मुकुन्द माधव मिश्रा, लक्ष्मी राय र श्रवण मोहम्मदले १÷१ विकेट लिए ।
जितको लागि १ सय ३५ रन पछ्याएको तिलाठी टिम १७ ओभर १ बलमा अलआउट हुँदै ८३ रन मात्र जोड्न सफल भयो । तिलाठीकालागि श्रवण मोहम्मदले ७ चौकाको मद्तले सर्वाधिक ३४ रन बनाएका थिए भने लक्ष्मी रायले १६ तथा जितेन्द्र यादवले अविजित १० रन बनाएका थिए ।
कोइलाडी बर्साइनकालागि राजेश रजकले घातक बलिङ गर्दै ३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए भने दिपेश मण्डलले ३, दिपेश सरदारले २ तथा कृष्णा साहले १ विकेट लिंदै आफ्नो टिमलाई जित दिलाए । उक्त खेलमा कोइलाडी बर्साइन टिमका राजेश रजकलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले ट्रफी प्रदान गरेका थिए । फाइनल खेल बुधबार कोइलाडी र सकरपुरा बीच हुने संयोजक झाले जानकारी दिए ।







