काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकिदवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २९० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाए ।
दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । यस्तै विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९ रन बनाए । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २/२ विकेट लिए ।
लिग–२ शृङ्खलामा नेपालले यसअघिको खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले पराजित भएको थियो ।
८ वटा देश सहभागी लिग–टुमा नेपाल २२ खेलमा १४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । यस्तै ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो र यूएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ ।







