काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् ।
आइतबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन
१४औँ महाधिवेशनबाट निर्वाचित नेताहरुलाई उचित जिम्मेवारी दिएर अघि बढ्न चाहेको बताए ।
शनिबार एक कार्यक्रममा बोल्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले गगनले पार्टीलाई मिलाएर अघि बढ्न नसकेकाले पार्टी नै विभाजनको डिलमा पुगेको आशंका व्यक्त गरेका थिए । त्यसबारे प्रतिक्रिया दिँदै सभापति थापाले शीर्ष नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन तयार रहेको स्पष्ट पारेका हुन् ।
उनले भने- ‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई केन्द्रीय समितिमा ल्याएर सम्मान दिएर राख्न चाहन्छु । महाधिवेशनका विषयमा बन्ने समितिमा फेयर बनाउनका लागि क–कसलाई कहाँ राख्ने भन्नेमा तयार छु । विधानको परिधिमा रहेर गर्छु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’
सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाएर अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार छु भनेर भनेको पनि बताए ।







