काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरिरहेपनि सभामुख डिपी अर्यालले बैठकलाई निरन्तरता दिएका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थिगित गरेका सभामुखले झण्डै २ घण्टापछि आएर बैठकलाई निरन्तरता दिएका हुन् ।

बैठक स्थिगित गरेर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ भेट्न पुगेका सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।

अहिले विपक्षीहरू संसदमा नाराबाजी गरिरहेका छन् ।

सभामुख अर्यालले विपक्षीका विरोधका बाबजुद तीनवटा विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।

बालेनलाई सदनमा उपस्थित गराउने सभामुखको प्रयास असफल

विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे ।

तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताएका अनुसार, आजै दुई पटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गरेका थिए ।

यद्यपि उनी बैठकमा जान तयार नभएपछि सभामुख अर्यालले अवरोधकाबीच बैठक अघि बढाएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री, गृहमन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसदमा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसदमा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएर सदनको बेल घेराउ गरेका हुन् ।

यद्यपी सभामुख अर्यालले बैठक जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको