काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले प्रतिनिधिसभा बैठकमा कविता सुनाएकी छन् ।

सीम विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

चुनावमा भारी मतका साथ जिताउने जनता र जनता उभिएको माटोलाई नबिर्सन खबरदारी गर्दै उनले संसद बैठकमै ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता सुनाएकी हुन् ।

यस्तो छ सांसद थपलियाले सुनाएको कविता–

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ

तर एकाएक तिम्रो बोलीको प्रतिध्वनी पनि नमेटिँदै

आफ्नै आमाको अस्मिता माथि औंला उठायौ

माटो छोएर कसम खायौ

तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ

तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ

त्यसैले आज म ढुक्क होइन,

मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ

स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स तिमीमाथि असिम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स

जनता उभिएको माटोलाई नबिर्स

तिमीलाई आशिष दिने ती बा–आमालाई नबिर्स

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

तर जुन दिन देश बिर्सन्छौ, त्यो दिन तिमी कसको शासक बन्ने छौ ?

भन तिमी त्यो दिन कसको शासक बन्ने छौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको