राजविराज । नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले संयुक्त रूपमा “उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारीः एआई सहकार्यका द्विपक्षीय अवसर” विषयक सेमिनार आयोजना गरेका छन् ।

सेमिनारमा व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरू सहभागी भई कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
कार्यक्रममा भारतको अग्रणी एआई कम्पनी सरवम एआईका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. प्रत्युष कुमारले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । भारत सरकारको ‘इन्डिया एआई मिसन’ अन्तर्गत स्वदेशी आधारभूत एआई मोडल विकासका लागि छनोट भएका १२ संस्थामध्ये सरवम एआई पनि एक हो ।

कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सुनील केसीले नेपाल–भारतबीच प्रविधिमा आधारित आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै भारतीय एआई कम्पनीहरूलाई नेपालमा उपस्थिति विस्तार गर्न तथा सार्वजनिक र निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे ।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले भारत र नेपालबीचको घनिष्ठ आर्थिक तथा व्यापारिक सम्बन्धलाई उल्लेख गर्दै डिजिटल क्षमता विकास, स्टार्टअप प्रवर्द्धन र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदान दुवै देशका साझा प्राथमिकता रहेको बताए ।

उनले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (इन–स्पान) कार्यक्रमको दोस्रो समूह गत जुन १ देखि सुरु भएको जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत २५ नेपाली स्टार्टअपले भारतको आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तिसहितको तालिम तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाइरहेका छन् । पहिलो समूहका नौ स्टार्टअपले आईआईटी मद्रासका विभिन्न इन्क्युबेसन केन्द्रबाट अवसर प्राप्त गरेका थिए ।

मुख्य वक्ता डा. कुमारले एआई, विशेषगरी ठूला भाषा मोडल (लार्ज ल्याङ्ग्वेज मोडल) को विकास र त्यसले विकासोन्मुख देशहरूमा पार्न सक्ने प्रभावबारे चर्चा गरे । उनले भारतको एआई मिसनका सात प्रमुख स्तम्भ— कम्प्युट क्षमता, डाटासेट, नवप्रवर्तन, अनुप्रयोग विकास, भविष्यका सीप, स्टार्टअप वित्तीय सहयोग तथा सुरक्षित र विश्वसनीय एआईबारे जानकारी गराए ।

उनले एआईको पहुँच ग्रामीण तथा सेवा नपुगेका समुदायसम्म विस्तार गर्न ‘स्पीच–टु–टेक्स्ट’ प्रविधिको महत्व, डाटा सार्वभौमिकताको आवश्यकता तथा स्वदेशी प्रतिभा विकासमा जोड दिए । साथै नेपालका स्टार्टअप र शैक्षिक संस्थाहरूले संयुक्त अनुसन्धान तथा तालिम कार्यक्रममार्फत भारतसँग सहकार्य विस्तार गर्न सक्ने बताए ।

कार्यक्रममा हालै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको डिजिटल इन्डिया भाषिणी डिभिजन (डीआईबीडी) र काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र (डीपीआई–एआई) बीच भएको समझदारीपत्र (एमओयू) को पनि चर्चा गरिएको थियो ।

भाषा–आधारित एआई, बहुभाषिक डिजिटल सार्वजनिक पूर्वाधार तथा समावेशी डिजिटल प्रणाली विकासमा सहकार्य गर्ने उद्देश्यले भएको उक्त सम्झौता गत साता नयाँदिल्लीमा आयोजित द्विपक्षीय भेटवार्ताका क्रममा आदानप्रदान गरिएको थियो ।

भारतीय दूतावासका अनुसार फेब्रुअरी १६ देखि २१ सम्म नयाँदिल्लीको भारत मण्डपममा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट–२०२६’ मा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका थिए । सम्मेलनले जिम्मेवार र समावेशी एआई शासनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा २०० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी प्रतिबद्धता आकर्षित गरेको थियो । साथै भारतले आफ्नो सार्वभौम कम्प्युट क्षमता विस्तार गर्दै थप २० हजार जीपीयू थपेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको