काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार संयुक्त रूपमा दुईतले छात्रावास भवनको उद्घाटन गरेका हुन् ।

भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको उक्त भवनमा चार वटा ब्लक तथा आवश्यक अन्य पूर्वाधार समावेश छन् । परियोजनाको कार्यान्वयन लोमन्थाङ गाउँपालिकामार्फत गरिएको हो ।

दूतावासले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय बौद्ध संस्कृति तथा सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ । विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको औपचारिक पाठ्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

उद्घाटन समारोहमा भारतीय राजदूत श्रीवास्तवले परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा सबै सरोकारवालालाई बधाई दिँदै नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा लोमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ छात्रावास भवनले विद्यार्थीको आवासीय सुविधा विस्तार गर्नुका साथै विद्यालयको समग्र अध्ययन–अध्यापन वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए ।

भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालनमा ल्याइएका छन् । गण्डकी प्रदेशमा मात्रै ६३ वटा यस्ता परियोजना कार्यान्वयन भएका छन्, जसमध्ये १८ वटा मुस्ताङ जिल्लामा रहेका छन् ।

त्यसैगरी भारत सरकारले मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई हालसम्म ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ । गण्डकी प्रदेशभर भने स्वास्थ्य तथा शैक्षिक संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको