राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गरेको छ ।
शनिबार बिहान यादवमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दाेषीमाथि कार्वाहीको माग गरेको हो ।
बाटो सम्बन्धी समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितकाले आफुमाथि आक्रमण गरेको पत्रकार यादवले जानकारी दिए ।
पत्रकार यादवका अनुसार महादेवा गाउँपालिकास्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडाे पुलमा कुरा गरेर बसिरहेकाे अवस्थामा सुरेन्द्रसहितका व्यतिले एक्कासी हेलमेटले कुटपिट गरेका छन्।
’आफ्नो पेशागत जिम्मेवारीमा खटिरहेका पत्रकार माथि कुटपिट गरेकाे घटनाकाे महासंघ घोर भर्त्सना र निन्दा गर्दछौं’ महासंघका कावा सचिव डम्बर राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,। ‘नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’
विज्ञप्तिमा कुटपिटमा संलग्न व्यक्तिहरूलाई अबिलम्ब कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न हामी स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरिएकाे छ ।
दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि नबढाइए हामी कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी विज्ञप्तिमा भनिएकाे छ ।
साथै कुटपिटबाट गम्भीर घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा उपचारको उचित प्रबन्ध मिलाउन समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।







