२८ भदौ, काठमाडौं ।  सांसदले अब प्रधानमन्त्री तथा मन्त्रीसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् ।

सभामुख ओनसरी घर्तीले संसद्को काम–कारबाही प्रभावकारी र जनमुखी बनाउन विशेष व्यवस्था गर्न लागेकी हुन् ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सहमति जुटाएपछि ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि’ तयारी गरेकी छिन् ।

संसद् नियमावली ०७३ को नियम २५८ मा कार्यव्यवस्था परामर्श समितिको परामर्श र व्यवस्थापिका–संसद्को स्वीकृति लिएर सभामुखले आवश्यकताअनुसार आन्तरिक कार्यविधि बनाउन सक्ने व्यवस्था छ ।

संसद् नियमावलीको अधिकार प्रयोग गरी सभामुखले कार्यविधि बनाएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीसँग सांसदले महिनामा एकपटक प्रश्नोत्तर गर्न पाउने गरी कार्यविधि तयार भएको छ । प्रधानमन्त्रीको कार्यक्षेत्रका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न पाइनेछ ।

संसद् बैठक चलेको प्रत्येक महिनाको एक दिन पहिलो एक घन्टाको समय प्रधानमन्त्रीसाग प्रश्नोत्तरको समय निर्धारण गर्ने गरी कार्यविधिको अन्तिम तयारी भइरहेको छ ।

सभामुखले कार्यसूचीको क्रमअनुसार प्रश्नकर्ता सदस्यको नाम बोलाउने र नाम बोलाइएका सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको