1 असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगेन्समाथि शानदार जित हात पारेको छ । र, कम्तिमा २४ घन्टाका लागि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले नवप्रवेशी टिम लेगेन्समाथि ५-१ को सहज जित हात पारेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो भने एक गोल खायो ।
लेगेन्सको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाका तीन फवार्ड लिओनल मेस्सी, नेयमार र लुइस स्वरेजबीच राम्रो तालमेल देखियो र तीन जनाले गोल गरे । १५ औं मिनेटमा नै मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले स्वरेजको पास गोल गरेका हुन् ।
३१ औं मिनेटमा मेस्सीको पासमा लुइस स्वरेजले गोल गरे । खेलको ४४ औं मिनेटमा नेयमारले गोल गरे । यो गोलका लागि नेयमारलाई स्वरेजले पास दिएका थिए ।
दोस्रो हाफको ५५ औं मिनेटमा नेयमारले फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सी चुकेनन् । ६४ औं मिनेटमा राफिन्हाले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ५-० को अग्रता दिलाए ।
८० औं मिनेटमा लेगेन्सका लागि गाबि्रयले सान्त्वना गोल गरे । बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी हृयाट्रिक गर्न भने चुके । एक पटक उनको प्रहार पोलमा लागेर फर्किएको थियो भने अर्को प्रहार विपक्षी गोलकिपरलाई मुस्किलले रोकेका थिए ।
जितसँगै बार्सिलोना ४ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान अंक छ । तर, उसले एक खेल कम खेलेको छ ।