पंकज झा
राजविराज, । जिल्लाको सदरमुकाम राजविराज अवस्थित नेपाल विद्युत प्राधिकरणले हुकिङ्ग प्रयोग गरी विद्युत उपभोग गर्नेहरुलाई समातेर जरिवाना असुली गरी लोकप्रियता कमाईरहेकी बेला प्राधिकरणको लापरवाहीपूर्ण रवैयाको समेत खुलासा हुन आएको छ।
जिल्लाका विभिन्न ग्रामिण भेगका बासिन्दाहरुले महिनौ पूर्व रित बमोजिम कागजात तथा बैंकमा धरौटी रकम समेत बुझाई सक्दा दर्जनौ जनताहरु विद्युत उपभोग गर्नबाट बञ्चित रहेका छन् ।
विद्युत प्राधिकरण शाखा राजविराज कार्यालयले महिनौ देखि हाल सम्म मिटर उपलब्ध गराई विद्युृत जडान नगरी दिँदा जिल्लाका प्रसवी, भगवतपुर, डिमन लगायतका वासिन्दाहरु विद्युत उपभोग गर्नेबाट बञ्चित रहेको गुनासो गर्छन ।
६ महिना पूर्व सनराईज बैंक मार्फत धरौटी रकम प्राधिकरणको खातामा जम्मा गरी आवश्यक कागजात समेत रित बमोजिम प्राधिकरणमा बुझाई सक्दा समेत हाल सम्म प्राधिरणले मिटर जडान गरी नदिएको गुनासो गर्छन डिमन–९ का दिनेश साफी ।
डिमन–२का छुदी यादवले समेत बिगत दुई महिना देखि प्राधिकरण धाउँदै आएतापनि हाल सम्म प्राधिकरणले मिटर जडान नगरेको बताउँछन् ।
यतिकैमा प्राधिकरणको लापरवाही सिमित हुँदैन । अझ अचम्म लाग्दो कुरो त के हो भने प्रसवनी–७ निवासी निवर्तमान गाविस अध्यक्ष रामदेव यादवले गत तीन वर्ष देखि मासिक विद्युत महसुल तिर्दै आएतापनि हाल सम्म उनले बैध रुपमा बिजुली उपभोग गर्न पाएका छैनन। हाल सम्म प्राधिकरणले मिटर जडान न गरी दिएकोमा आक्रोश व्यक्त गर्छन निवर्तमान गाविस अध्यक्ष यादव ।
यता, विगत तीन महिना देखि डिमन–८ स्थित टोलका वासिन्दाहरु अन्धकारमै बस्न बाध्य रहेका छन् ।
उक्त टोलमा रहेको विद्यूतीय ट्रान्सफर्मर तीन महिना पूर्व विग्रिएको छ । दुई महिना सम्म प्राधिकरणले उक्त बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्न त्यहाँबाट खोलेर राजविराज स्थित कार्यालय सम्म ल्याउँने जमर्को नगर्दा स्थानीयहरुले कार्यालय सम्म ट्रान्सफर्मर पु¥याई दिएता पनि उक्त ट्रान्सफर्मर मर्मत गरी जडान गर्ने काम प्राधिकरणले हाल सम्म नगरेको डिमन–८का राजाराम यादव बताउँछन ।
सो सम्बन्धमा विद्यूत प्राधिकरण शाखा राजविराजका कार्यालय प्रमुख राम उदगार साहले उक्त क्षेत्रका मिटर वितरण गर्ने जिम्मेवारी प्राधिकरणको शाखा कार्यालयलाई रहेको हुँदा त्यस सन्दर्भमा आफु समक्ष कुनै गुनासो नआएको बताए ।
प्राधिकरण शाखा कार्यालय हनुमाननगरले भने जेष्ठ देखि असार सम्ममा मात्रै सात सय मिटर वितरण गरिएको जनायो । हुकिङ्ग नियन्त्रण गर्दा मात्र यस्ता गुनासोहरु सुनिने गरिएको कार्यालय प्रमुख इन्जिनियर उपेन्द्र यादवले टिप्पणी गरें ।