भ्रम सिर्जना गर्ने कारवाहीका भागी हुन्छन ः अध्यक्ष खतिवडा
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको भनी सञ्चार माध्यममा आएको समाचार भ्रामक भएको र त्यस्तो भ्रममा नपर्न सम्बन्धित सबै सरोकारवालालाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडा र सचिव ओमप्रकाश साहले एक संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त आग्रह गरेको हो । अध्यक्ष खतिबडा र सचिव साहद्वारा जारी विज्ञप्तिमा महासंघका केही सदस्यहरुले बैठक गर्ने भनी केही सामान्य सदस्यहरुलाई बोलाई त्यसलाई बिशेष साधारण सभाको नाम दिनु आफैंमा हास्यास्पद रहेको र त्यस्तो एक पक्षिय समूहले गरेको बैठक साधारण सभा हुन नसक्ने भनी ठोकुवा गरेको छ । बिहिवार जारी गरिएको उक्त बिज्ञप्तिमा साधारण सभाको केही निर्धारित र निश्चित प्रक्रियाहरु हुन्छन ती सबैलाई लत्याएर केही व्यक्तिको क्षुद्र स्वार्थपूर्तिका लागि एक सामान्य बैठकलाई बिशेष साधारण सभाको नाम दिनु आफैंमा आश्चर्यजनक रहेको र यस्तो सामाचार प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
महासंघको शाखा सप्तरी विगत केही समय देखि विवादित रहेको र सो विवाद सामाधान गर्न केन्द्रिय कार्यालयले समेत पहल गरि नै रहेको अवस्थामा शाखाका सबै सदस्यहरुलाई जानकारी समेत नदिई र केन्द्रको जानकारी बिनै विवाद निम्त्याउने सदस्यहरुले नै आफुखुशी ढंगले यसरी बिशेष साधारण सभाको नामले बैठक गर्नु र सोको समाचार प्रकाशन गर्नु गराउनु दुर्भाग्यपूर्ण भएको तथा यस्तो क्रियाकलापले विवाद सामाधान हुनुको साटो झनै बल्झिने महासंघको ठम्याई रहेको अध्यक्ष र सचिवद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
महासंघको नाम प्रयोग गरी गरिएको भनाउँदा त्यस्तो साधारण सभा केही व्यक्तिको कल्पनाको उपज मात्र भएको र यस्तो कार्य गर्ने गराउनेहरुको गतिविधिको जानकारी केन्द्रिय कार्यालयलाई गराई महासंघ विरुद्ध गतिविधि गर्ने त्यस्ता व्यक्तिहरुलाई कार्यवाहीको माँग समेत गरिने हुँदा त्यस्ता भ्रामक समाचारको सत्यता उपर विश्वास नगर्न सम्बन्धित सबै सरोकारवालामा हार्दिक आग्रह समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो सम्बन्धमा अध्यक्ष खतिबडा संग जानकारी लिंदा उहाँले महासंघप्रति भ्रम सिर्जना गर्ने गराउने तत्वहरुलाई विधान अनुरुप कारवाही गरिने बताए ।